२०८२ वैशाख २८ गते आइतवार / May 11 , 2025 , Sunday
२०८२ वैशाख २८ गते आइतवार
Ads

जब 'जाम भन्यो कतारको लाहुरेले' गाउँदा बन्यो संगीतमय माहोल (फोटो फिचर)

मध्यान्ह
२०८१ भदौ १५ गते २०:३२
जब 'जाम भन्यो कतारको लाहुरेले' गाउँदा बन्यो संगीतमय माहोल (फोटो फिचर)

दोहा, कतार : ‘लेउ न आमा एक मुठ्ठी पानी’ गीत गाउँदै स्टेजमा चढेकी लोक तथा दोहोरी गायिका रिता थापा मगरले ‘कतारका लाहुरेले जाम भन्यो भन्दै’ गाउँदा माहोल जुरुक्क उठ्यो । पछिल्लो समयको हिट रत्यौली गीतमा हलमा रहेका महिलामात्र नाचेनन् पुरुष पनि छमछमी नाचे । करिब १५ सय दर्शक उपस्थित अल लुक्ताको ट्युनिसियन स्कुलको कभर्डहलमा गायिका रितासँगै कतारका लाहुरे र लाहुरिनी वास्तवमै जुरुक्क परेका थिए । थापाले आयोजकप्रति आभार व्यक्त गर्दै निमन्त्रणा गरेर लामो समयपछि कतार आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरिन् ।

शुक्रबार श्रमिक सचेतनासहित नेपाली नारीहरूको महान् पर्व ‘हरितालिका तिज’को अवसरमा सम्पन्न विविध सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्षसमेत रहेकी गायिका थापाले प्रस्तुति दिएकी हुन् । तिज कार्यक्रममा कतारमा रहेका करिब २ दर्जन कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिए । गायन र नृत्य विधामा स्थानीय कलाकारको प्रस्तुतिले हललाई वास्तवमै तिजमय बनाएको थियो ।

नेपाली महिला समाज कतार र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको महिला विभागको समन्वयमा कतारमा स्थापित विभिन्न ६२ वटा संघ–संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कतारको आन्तरिक मन्त्रालयका अधिकारीहरूले हलमा उपस्थितहरूलाई नेपालबाट कतार आउँदा डाक्टरहरूको सल्लाहबमोजिम नेपालमा वैद्य मानिएका तर कतारमा अवैध हुन सक्ने औषधिको अध्ययन गरेरमात्र लिएर आउन सचेत गराए । 

कार्यक्रममा कतारमा सबै किसिमका ड्रग्सको ओसारपसारलाई प्रतिबन्ध गरिएको हुँदा गाँजा चरेससहित गुट्खा, चुरोट, सूर्ति या खैनीजन्य पदार्थ पनि कतार आउँदा नल्याउन अनुरोध गर्दै अरूले दिएको पार्सल खोलेर हेरेर मात्र ल्याउन सुझाव दिए ।

सामाजिक सुरक्षा कोषका बारेमा पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष अर्जुन पौडेलले कोषमा सूचीकृत हुनका लागि न्यूनतम १ महिना योगदान गर्नुपर्ने, तर थप ५ महिनाको करिब १० हजार रुपैयाँ योगदान गर्‍यो भने नेपालमा रहेका श्रीमान/श्रीमती र बच्चाहरूको औषधि उपचारका लागि योग्य हुने बताए । नियमित कोषमा सूचीकरण भएमा सबै प्रकारका टिभी नेपाल लैजान मिल्ने बताउँदै ६० वर्षपछि निवृत्ति भत्ता पनि मिल्ने हुँदा कोष लाभदायक रहेको बताउँदै सबै श्रमिकलाई आबद्ध हुन् आग्रह गरे ।

एनआरएनए एनसीसी कतारको महिला विभाग संयोजक सुष्मा खतिवडा कटुवालले स्वागत मन्तव्य राखेको रमाइलो तिज कार्यक्रम महिला समाजकी अध्यक्ष माया केसीको अध्यक्षता तथा नेपाली राजदूतावास कतारकी प्रथम सचिव सीता ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

आयोजकका रूपमा रहेका ६२ वटा संघसस्थाका संस्था प्रमुख तथा प्रतिनिधिसहित कतारमा स्थापित विभिन्न संघ संस्थाका संस्था प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । न्यून मन्तव्यलाई स्थान दिइएको कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथिले कतारमा रहेका दिदी बहिनीहरूलाई रमाइलो प्रदान गर्ने अवसर जुटाएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरिन् ।

समाजकी महासचिव मेनुका खतिवडा र प्रवक्ता शारदा भुजेलले मिलेर सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै अध्यक्ष केसीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने एनसीसीका विभिन्न विभाग, महिला समाजका विभिन्न ओहोदाका व्यक्तित्वहरूसहित प्रायोजक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरिन् । कार्यक्रमलाई सफल बनाउन विभिन्न कोणबाट सहयोग गर्ने सम्पूर्ण सहयोगी, पत्रकार तथा गायिका थापासहित प्रमुख अतिथिलाई समेत मायाको चिनो, दोसल्ला र खादाले सम्मान गरिएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर