२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

सामुदायिक वनको आम्दानीबाट गाउँमै विकास

Nada
सूर्यप्रसाद भुसाल
२०८३ मंसिर ६ गते २१:४५
Shares
सामुदायिक वनको आम्दानीबाट गाउँमै विकास

अर्घाखाँची : सामुदायिक वन भन्नासाथ वन संरक्षण, हरियाली प्रवर्धन र काठदाउराको व्यवस्थापनलाई मात्र बुझ्ने गरिन्छ । तर अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ मा रहेको मजुरेडाँडा सामुदायिक वन उपभोक्ता समूहले भने सामुदायिक वनलाई स्थानीय विकास, रोजगारी सिर्जना समेत गर्दै आएको छ । 

वन संरक्षणबाट प्राप्त आम्दानीलाई गाउँको पूर्वाधार विकास र नागरिकको जीवनस्तर सुधारमा परिचालन गर्दै आएको मजुरेडाँडा सामुदायिक वन उपभोक्ता समूहले स्थानीय विकासका लागि ११ लाख रुपैयाँको वार्षिक बजेट छुट्टाएको हो । 

सामुदायिक वनको आम्दानीलाई स्थानीय विकासका साथै  वन संरक्षण, स्थानीय युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने काम गर्दै आएको छ । वन व्यवस्थापन, निर्माण तथा विकाससँग सम्बन्धित गतिविधिले स्थानीयस्तरमै रोजगारी र आयआर्जनका सम्भावना विस्तार गरेको छ । गाउँमा उपलब्ध स्रोत र साधनको उचित व्यवस्थापन गर्न सके स्थानीय विकासका लागि बाह्य सहयोगको मात्र प्रतीक्षा गर्नुपर्ने अवस्था नरहने सन्देश दिएको छ ।

मजुरेडाँडा सामुदायिक वन उपभोक्ता समूहको ३१औं वार्षिक साधारणसभा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि सामुदायिक वनको आम्दानीबाट विकास निर्माण तथा सामाजिक कार्यक्रम समेटिएको एक करोड ११ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरिएको थियो । 

समुहका अध्यक्ष प्रदिप बिसीले भएपछि वनको संरक्षण हुदाँ चोरी निकासी बन्द भएको बताए । उनले बनको आम्दानी स्थानीयको आम्दानी भएकोले स्थानीय बिकासको लागि बजेट बिनियोजन गरिएको बताए । 

अध्यक्ष बीसीको नेतृत्वमा वनको आम्दानीलाई विकास निर्माणसँग जोड्ने कामले गति लिएको स्थानीयको भनाई छ । युवा, सामाजिक अभियन्ता तथा व्यवसायीसमेत रहेका बीसीले वन संरक्षण र विकास निर्माणलाई सँगसँगै अघि बढ्नु पर्नेमा जोड दिदै आएका छन् । 

सामुदायिक वनको संरक्षणमा अध्यक्षसहित पदाधिकारी र सदस्यहरू नियमित रूपमा फिल्डमा खटिने, वन क्षेत्रमा हुने चोरी निकासी नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन डढेलो नियन्त्रण तथा वन पैदावारको संरक्षणमा समूहले काम गर्दै आएको छ । वन जोगिए मात्र आम्दानीको स्रोत सुरक्षित हुने र त्यसबाट प्राप्त रकमले विकास निर्माणलाई निरन्तरता दिन सकिने मान्यतासहित समूहले संरक्षणलाई प्राथमिकता दिएको छ ।

समूहका कोषाध्यक्ष विजय श्रेष्ठले सामुदायिक वनबाट भएका विकास निर्माणका काम, आर्थिक वर्षमा भएको आम्दानी तथा खर्च, आगामी कार्ययोजना र वार्षिक कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । वनको आम्दानी, खर्च र आगामी योजनाबारे  प्रतिवेदनमा उल्लेख गरिएको थियो । 

मजुरेडाँडा सामुदायिकवनबाट प्राप्त हुने काठ तथा दाउराको बिक्रीवितरणलाई आम्दानीको मुख्य स्रोत बनाएर त्यसलाई गाउँको विकासमा लगानी  गर्ने गरेको छ । 

वन पैदावारबाट प्राप्त रकमलाई सडक, खानेपानी, विद्युत्, सिँचाइ, कृषि, शिक्षा, वृक्षरोपण तथा वन विकासलगायतका क्षेत्रमा परिचालन गर्दै आएको कोषाध्यक्ष श्रेष्ठ बताउछन् । 

यसले स्थानीय आवश्यकता पहिचान गरी विकासका काम अघि बढाउने समूहको अभ्यासले उपभोक्तामा सामुदायिक वनप्रतिको अपनत्व बढाएको उनको भनाई छ । सडक कालोपत्रेदेखि विभिन्न पूर्वाधार निर्माणका काम अघि बढेपछि स्थानीय बासिन्दाले सामुदायिक वनलाई केवल वन पैदावार प्राप्त गर्ने माध्यमका रूपमा नभई गाउँको विकासको साझेदारका रूपमा बुझ्न थालेका छन् ।

यस्तै समूहले ५० जना ज्येष्ठ नागरिक र चार जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । वनको आम्दानीलाई पूर्वाधार विकासमा मात्र नभई समाजका ज्येष्ठ नागरिक तथा विशेष सहयोग आवश्यक पर्ने नागरिकको सम्मान र सामाजिक उत्तरदायित्वसँग जोड्नु समूहको सकारात्मक अभ्यासका रूपमा हेरिएको छ ।

कार्यक्रममा हरिओम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वसन्त अधिकारी, बेलघारी सामुदायिक वनका अध्यक्ष सन्तोष शर्मा, कपिलमुनि सामुदायिक वनका अध्यक्ष तुल्सीराम भट्टराईलगायतले शुभकामना मन्तव्य दिए  मजुरेडाँडा सामुदायिक वनले सञ्चालन गरेका विकास तथा संरक्षणका गतिविधिको प्रशंसा गरेका थिए ।

अध्यक्षबीसीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा शितगंगा नगरपालिका–१२ का वडाध्यक्ष चोपबहादुर घर्तीमगर प्रमुख अतिथि तथा शितगंगा सबडिभिजन वन कार्यालयका प्रमुख प्रदीप चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा फरेस्टर यम केसीलगायत स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता, सामाजिक अगुवा तथा विभिन्न सामुदायिक वनका प्रतिनिधिको उपस्थिति थियो ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर