
रौतहट : रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोकमा सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँच गरिरहेका बेला एक अपरिचित व्यक्तिले मोटरसाइकलमा सवार युवकमाथि चक्कु प्रहार गरी फरार भएका छन् ।
आइतबार साँझ करिब ६ः५० बजे भएको उक्त घटनामा एक युवक गम्भीर घाइते भएपछि स्थानीयवासी आक्रोशित बन्दै गौर–चपुर सडक खण्ड अवरुद्ध पारेका छन् ।
राजपुर नगरपालिका–१ भगवानपुर निवासी रविन्द्र यादवका करिब ३०–३५ वर्षीय छोरा राजेश यादवमाथि चक्कु प्रहार भएको हो । सशस्त्र प्रहरीको चेकजाँच चलिरहेकै स्थानमा एक्कासि आक्रमण भएको र चक्कु प्रहारलगत्तै आक्रमणकारी घटनास्थलमै मोटरसाइकल छाडेर भागेको बताइएको छ । घटनास्थलमा अपराधीले बिआर ०१ इडब्लु ०६२७ नम्बरको मोटरसाइकल छाडेर फरार भएको खुलेको छ ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका राजेश यादवलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । पीडित पक्षका अनुसार अस्पतालमा सामान्य प्राथमिक उपचार गरिए पनि चोट गम्भीर देखिएकाले थप तथा विशेषज्ञ उपचारका लागि उनलाई तत्काल वीरगन्ज रेफर गरिएको छ । घाइतेको स्वास्थ्य अवस्था नाजुक रहेको पारिवारिक स्रोतले जनाए ।
घटनाको कडा विरोध जनाउँदै पीडित परिवार तथा स्थानीय बासिन्दाले दोषीलाई अविलम्ब पक्राउ गरी कडा कारबाही गर्नुपर्ने र घाइतेको समुचित उपचार तथा न्यायको माग गर्दै गौर–चपुर सडक खण्ड अवरुद्ध पारेका छन् । सडक अवरुद्ध भएपछि गौर, चन्द्रपुर, गरुडा लगायतका स्थानतर्फ आवतजावत गर्ने सवारी साधन तथा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अवस्था तनावपूर्ण बन्दै गएपछि घटनास्थल र आसपासका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ । सुरक्षा स्रोतका अनुसार घटनास्थलमा छाडिएको बिआर ०१ इडब्लु ०६२७ नम्बरको मोटरसाइकलको प्राविधिक तथा कागजी विवरण, प्रत्यक्षदर्शीको बयान र प्राप्त अन्य सुराकीका आधारमा फरार व्यक्तिको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ । घटनाको विस्तृत अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिलाई चाँडै कानुनी दायरामा ल्याइने सुरक्षा निकायले जनाए ।