२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

ओलीले भने- शत्रुका लात सहने, आफ्नाका बात नसहने ?

‘डिजिटल वार’मा सक्रिय हुन कार्यकर्तालाई निर्देशन

Nada
२०८३ असोज १४ गते १७:४८
Shares
ओलीले भने- शत्रुका लात सहने, आफ्नाका बात नसहने ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । 

ncell

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई बुधबार भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई थप सक्रिय बनाएर आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । पार्टीभित्र हुने सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने उनको भनाइ थियो । ‘शत्रुका लात सहने तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ,’ ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भएर अघि बढ्नुपर्छ ।’

एमालेभित्र समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्ने उनले बताए । विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि विचार र संगठनका हिसाबले पार्टी एकढिक्का रहेको ओलीको दाबी थियो । 

वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । निर्वाचनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न नेता–कार्यकर्तालाई निर्देशन दिँदै ओलीले एक निर्वाचनको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

यस क्रममा उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको राजनीतिक उतारचढावको उदाहरण दिँदै उनले भने, ‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’ 

‘डिजिटल वार’मा सक्रिय हुन निर्देशन

अध्यक्ष ओलीले एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै सूचना प्रविधिमार्फत हुने राजनीतिक प्रचारमा पार्टीको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए ।

पार्टीले गरेका काम र उपलब्धिलाई जनतासम्म सही ढंगले पुर्‍याउन नेता–कार्यकर्ताले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। उनले आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय भएर संगठन निर्माण, जनसम्बन्ध विस्तार र पार्टी अनुशासनमा ध्यान दिन पनि निर्देशन दिए । 

भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय पार्टी निर्देशिकामार्फत छिट्टै तल्लो तहसम्म पठाइने जानकारी दिए । उनका अनुसार, पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको छ भने प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्नेछ । 

वडा, पालिका, जिल्ला र प्रदेश तहसम्म युवालाई पार्टीसँग जोड्ने कार्यक्रम अघि बढाइने पोखरेलले बताए । लगातार तीनवटा बैठकमा अनुपस्थित हुने सदस्यलाई विधानअनुसार पदबाट हटाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने पनि उनले जानकारी दिए ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट भएको कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल तथा सचिवहरू भानुभक्त ढकाल र पद्मा अर्याललगायत नेताको सहभागिता थियो । 

ताजा खबर

सम्बन्धित खबर