
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समर्थनमा पूर्व महामन्त्री डा शशांक कोइराला समूह समानान्तर महाधिवेशनको अन्तिम तयारीमा छ । शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी वडा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको यो समुहले जानकारी दियो ।
यो समुहको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएको छ । समितिका संयोजक किरणराज पौडेलले शनिबार निर्वाचन समितिका संयोजक एगराज पोखरेललाई सूची हस्तान्तरण गरे ।
हस्तान्तरित सूची अनुसार, देशभर कुल ८ लाख ८९ हजार २३६ क्रियाशील सदस्य कायम भएका छन् । यसमध्ये ५ लाख ६१ हजार २६९ सदस्यको सदस्यता नवीकरण गरिएको छ भने २ लाख ९० हजार ४६७ नयाँ क्रियाशील सदस्य थपिएका छन् । यो समूहले सदस्यता वितरणका लागि नयाँ वेबसाइट समेत शनिबारबाटै सञ्चालनमा ल्याएको छ । छुटेका व्यक्तिले असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको नेता नेता प्रकाशशरण महतले बताए ।
आफूहरूले असोज १५ गतेबाटै वडा अधिवेशन सुरु गर्न लागेको बताए । उनका अनुसार केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गते काठमाडौंमा हुँदै छ । उनले भने, ‘हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ तर सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आयो ।’ १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाले आफूहरूले गर्न लागेको महाधिवेशन महत्त्वपूर्ण भएको दाबी गरे । समानान्तर महाधिवेशनको तयारीबारे जानकारी दिन सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कार्यक्रममा उनले भने, ‘यो एउटा हाम्रो लागि एउटा परीक्षाको समय पनि हो। अधिवेशनले भविष्यको बाटो देखाउँछ । त्यसैले यो अधिवेशन अत्यन्त महत्त्वपूर्ण हो । यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक सोचेर हामी बढेका छौँ ।’ उनले आफूहरू सबैलाई साथ लिएर हिँड्न चाहेको बताए । यो समुले पनि युवालाई प्राथमिकता दिने नीति लिएको छ ।
यो समुहले समानान्तर अधिवेशन तयारीका लागि यस अघि नै मधेश प्रदेशबाहेक ६ प्रदेशका जिल्लामा संयोजक र सहसंयोजक खटाइसकेको छ । सुदूरपश्चिम प्रदेशमा बाजुरामा धनराज पण्डित, बझाङमा हर्क जङ्गबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई संयोजक तथा रामसम्भव रानालाई सहसंयोजक तोकिएको छ । अछाममा भने संयोजक तोकिएको छैन ।
वाग्मती प्रदेशमा दोलखामा ताराकुमार खड्का र जयराम श्रेष्ठलाई सहसंयोजक, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई जिम्मेवारी दिइएको छ । सिन्धुली र काभ्रेमा संयोजक तोक्न बाँकी छ ।
गण्डकी प्रदेशमा गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषीराम काफ्ले, मनाङमा नाचोड गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई संयोजक तोकिएको छ । तनहुँ, मुस्ताङ र स्याङ्जाको विवरण सार्वजनिक गरिएको छैन ।
लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ र खुर्सेद अहमद खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण काकी र बर्दियामा जगतप्रसाद पाण्डेलाई संयोजकको जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशमा डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुढाथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ । रुकुम पश्चिम र सल्यानमा संयोजक तोकिएको छैन ।
कोशी प्रदेशका पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई संयोजक तोकिएको छ । मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ ।