
काठमाडौं : वैदेशिक रोजगार व्यवसायी नेवाः समाजले ब्लड क्यान्सरबाट पीडित नाबालक नवाङ तामाङको उपचारका लागि आर्थिक सहयोग गरेको छ । भैरव इन्टरनेसनल प्रा.लि.का सञ्चालक एवं वैदेशिक रोजगार व्यवसायी दानबहादुर तामाङ तथा सुमी लोप्चनका पुत्र तामाङलाई ब्लड क्यान्सर भएपछि हाल उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।
सोमबार समाजका अध्यक्ष किसन प्रधानको नेतृत्वमा गएको समाजको प्रतिनिधिमण्डलले बालकका अभिभावकलाई १ लाख १ हजार १११ रुपैयाँ नगद हस्तान्तरण गरेको छ । अध्यक्ष प्रधानले जसलाई अति जरुरी छ, त्यस्ता व्यक्ति वा संस्थालाई क्षमताले भ्याएसम्म सहयोग गर्ने समाजको उद्देश्य रहेकाले रकम अभावका कारण उपचारको जोखिममा रहेका बालकका लागि सहयोग गरिएको बताए ।
समाजका महासचिव देवेन्द्र नारायण श्रेष्ठले सामाजिक उत्तरदायित्वको भावनाले उपचाररत बालकलाई सहयोग गरिएको बताए । ‘मर्दा–पर्दा नेवाः समाज’ भन्ने सामाजिक सेवाको मूल उद्देश्य लिएर स्थापित समाज क्रियाशील रहेको भन्दै महासचिव श्रेष्ठले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने कार्यक्रमलाई सधैं निरन्तरता दिने बताए ।
समाजले यसअघि शैक्षिक छात्रवृत्ति, वैदेशिक रोजगारबाट घाइते तथा अपांग भई फर्केका कामदारलाई सेल्टर दिने संस्थालाई आर्थिक सहयोग तथा हालै आएको बाढीपीडितलाई छाता संगठनले गरेको आह्वानअनुसार सक्दो सहयोग गरेको थियो ।
सो अवसरमा अध्यक्ष प्रधान, तृतीय उपाध्यक्ष प्रवीण श्रेष्ठ, महासचिव श्रेष्ठ, सचिव गगन श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकुमार श्रेष्ठ र सदस्यहरू अमित श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, विद्यालक्ष्मी बज्राचार्य, व्यवसायी भरत सापकोटा, बासु पुडासैनी र देउमान नेम्वाङको सहभागिता रहेको थियो ।