
चरिकोट : हरितालिका तीजको अवसर पारेर दोलखाको सदरमुकाम चरिकोटमा रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै महाआरती तथा १०८ दीप प्रज्वलन गरिएको छ । बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चिरशान्तिको कामना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा धार्मिक विधिअनुसार महाआरती गरिएको हो ।
कार्यक्रममा तीन जना गुरुबाट पशुपतिनाथ, बागमती, गंगा तथा गौरीशंकरको महाआरती गरिएको आयोजकले जनाएको छ ।
सो अवसरमा १०८ वटा दीप प्रज्वलन गरी विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । दीप प्रज्वलनसँगै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै विपद्बाट प्रभावितहरूको शीघ्र पुनःस्थापनाको कामनासमेत गरिएको थियो । धार्मिक तथा सामाजिक भावनासँग जोडिएको कार्यक्रममा स्थानीय नागरिक, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । तीजको अवसरलाई मनोरञ्जनमा मात्र सीमित नराखी विपद्मा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
सेतीदेवी झारफुक परामर्श केन्द्र, तारथली, दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ, चरिकोटलगायत विभिन्न संस्था तथा समूहको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमले विपद्मा ज्यान गुमाएकाहरूको सम्झना गर्दै पीडित परिवारप्रति सहानुभूति र सामाजिक एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।