
रौतहट : रौतहटको राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा सालका रुख कटान गरी खोलाको बाटो हुँदै काठ तस्करी भइरहेको नयाँ र डरलाग्दो शैलीको खुलासा भएको छ । तस्करहरूले सडक तथा परम्परागत पैदल मार्ग छाडेर खोलाको तीव्र बहाव र पानीको प्रयोग गरी काठ ओसारपसार गर्न थालेपछि डिभिजन वन कार्यालय र सुरक्षा निकाय अचम्मित बनेका छन् ।
विशेष सूचनाका आधारमा खटिएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले लालबकैया खोलाको धारबाट बगाएर ल्याउँदै गरिएको २७.४७ क्युबिक फिट अवैध सालको काठ नियन्त्रणमा लिएपछि तस्करीको यो नयाँ तथा जोखिमपूर्ण मोडल बाहिर आएको हो ।
जंगलसहिया सब–डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा पर्ने लालबकैया खोलाको गर्जा पुलभन्दा करिब २०० मिटर उत्तर (माथिल्लो भाग) बाट सोमबार बिहान करिब २ बजेको समयमा उक्त काठ बरामद गरिएको हो ।
अवैध काठ चोरी–निकासी भइरहेको सूचना पाएपछि वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढा सम्मिलित संयुक्त गस्ती टोली रातको समयमा खोला किनारमा निगरानीका लागि खटिएको थियो । टोलीले अँध्यारोमा खोलाको पानीमा तैरँदै र बग्दै आएको गोलिया देखेपछि तत्कालै नियन्त्रणमा लिएको थियो ।
घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै थप सहयोगका लागि जंगलसहिया सब–डिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली पनि तुरुन्तै घटनास्थल पुगेको थियो ।
नियन्त्रणमा लिइएका काठहरूमा सालको गोलिया ४ थान , सालको चौपाटाः १ थान, कुल परिमाण २७.४७ क्युबिक फिट रहेका छन् ।
वन टोलीको उपस्थिति र सक्रियता चाल पाएपछि काठ पानीमा बगाएर ल्याउँदै गरेका तस्करहरू भने रातको अँध्यारो र खोलाको झाडीको फाइदा उठाउँदै काठ छाडेर फरार भएका थिए । सडक क्षेत्र तथा नाकाहरूमा वन कर्मचारी र सुरक्षाकर्मीको कडा निगरानी पछि तस्करहरूले खोलाको पानीलाई ओसारपसारको माध्यम बनाएको देखिन्छ । वर्षात्को समयमा खोलामा पानीको बहाव बढी हुने र रातको समयमा मानिसको आवतजावत कम हुने भएकाले तस्करहरूले यो नयाँ बाटो अपनाएको पाइएको छ ।
यसरी खोलामा काठ बगाएर ओसारपसार गर्दा दुर्घटनाको जोखिम उच्च हुनाका साथै वन पैदावारको क्षतिसमेत हुने गर्दछ । तस्करहरूले प्रयोग गरेको यो नयाँ शैलीले वन सुरक्षाकर्मी र स्थानीय प्रशासनका अगाडि नयाँ र जटिल चुनौती थपिदिएको छ ।
बरामद गरिएको काठलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको र काठ तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान भइरहेको डिभिजन वन कार्यालयले जनाए । तस्कर समूहको खोजीका लागि सूक्ष्म गस्ती र सूचना संकलनलाई थप चुस्त बनाइएको वन अधिकारीहरूले बताए ।