२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

सुरुङमा उद्धार टोलीको प्रवेश प्रयास, १०० मिटर भग्नावशेष हटाइयो

Nada
२०८३ भदौ २९ गते १८:४५
Shares
सुरुङमा उद्धार टोलीको प्रवेश प्रयास, १०० मिटर भग्नावशेष हटाइयो

काठमाडौं : भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता व्यक्तिको खोज तथा उद्धार कार्य जारी छ । चिलिमे हाइड्रोको सुरुङमा पानी भेटिएपछि त्यसलाई हटाउने काम भइरहेको छ भने उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार चिलिमे हाइड्रोमा एक्साभेटर र लोडर प्रयोग गरी हालसम्म करिब १०० मिटर भग्नावशेष हटाइएको छ । सुरुङभित्र पानी भेटिएपछि त्यसलाई हटाउने काम भइरहेको हो । खोज तथा उद्धार टोलीले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको सेनाले जनाएको छ ।

चिलिमेमा खोला वारपार गर्न तुइनसमेत जडान गरिएको छ । यसले स्याफ्रुबेसीलाई स्थलमार्गबाट धुन्चेसम्म जोड्न सहयोग पुग्ने सेनाले जनाएको छ ।

रसुवागढी जलविद्युत् आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । लाङ्टाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरेको छ । तर, हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिले खोजी कार्य जारी राखेका छन् । त्रिशूली–३ ‘ए’ आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी गरिरहेको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले एक्साभेटर र ब्याकहो लोडर प्रयोग गरी आयोजनाको आवासगृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरेको छ । अहिले टोलीले पावरहाउस क्षेत्रतर्फ खोजी अघि बढाइरहेको सेनाले जनाएको छ ।

भदौ १० गतेको बाढीपछि रसुवाका जलविद्युत् आयोजना तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुगेको छ । विभिन्न आयोजनामा कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएपछि सुरुङ, पावरहाउस तथा आसपासका क्षेत्रमा नेपाली सेना, आयोजनाका प्राविधिक र विदेशी विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।

सम्बन्धित खबर