२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री शाह

Nada
२०८३ भदौ २९ गते १६:४६
Shares
बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताएको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।

उनले बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको आजको छलफल उहाँहरूको मनोबल उच्च राख्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिबाटै विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा खुसी लागेको बताए । उनले जनप्रतिनिधिलाई लक्षित गर्दै भने, “यसअघि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौं, तर यस विपद्‍मा हामी एकै ठाउँमा उभियौ, मिलेर काम गर्‍यौं ।”

प्रधानमन्त्री शाहले सरकार प्रभावित क्षेत्रमा जतिसक्दो चाँडो सडक सञ्जाल पुनर्स्थापना गर्ने गरी निरन्तर काम गरिरहेको उल्लेख गरे । उनले सडक सञ्जाल सञ्चालनमा आएसँगै प्रभावित पूर्ववत् अवस्थातर्फ स्वतःस्फूर्त फर्कन सहज हुने विश्वास व्यक्त गरे ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले आफूहरूले सुरुवातबाटै नदी तटीय क्षेत्रमा रहेका बस्ती जोखिममा रहेको विषय उठाउँदै आएको बताए । उनले स्थानीय जनप्रतिनिधिले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने बताए । त्यसका लागि सरकारले प्रभावित क्षेत्रबाट नजिकै तर सुरक्षित स्थानमा बस्ती बसाउने गरी तयारी सुरु गरेको जानकारी गराए ।

उनले भने, “बस्ती बसाउँदा प्रभावित मानिसहरूको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृतिलगायतलाई ध्यान दिनुपर्छ र पूर्ववत् अवस्था उपलब्ध हुनुपर्छ, खेतीयोग्य जमिन जोगाउँदै, वैज्ञानिक बस्ती व्यवस्थापन गर्नुपर्छ ।” यसका लागि प्रधानमन्त्री शाहले आफैं जग्गाको पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे । प्रभावित क्षेत्रका जनप्रतिधिसँगको छलफलले त्यहाँको वस्तुस्थिति बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहको भनाइ थियो ।

सम्बन्धित खबर