
काठमाडौं : भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउस क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ । नेपाली सेनाका अनुसार रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा संयुक्त टोली परिचालन गरिएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चिवनसम्म क्षति पुर्याएको छ । १९ दिनसम्म पनि सुरुङभित्र जीवनको खोजी जारी छ । रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिम तथा विदेशीसमेत सम्मिलित संयुक्त खोज तथा उद्धार टोलीले खोजी गरिरहेको छ । लाङटाङ जलविद्युत् आयोजनामा विदेशीसमेत सम्मिलित संयुक्त टोलीले ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरेको छ । सेनाका अनुसार खोजीका क्रममा अहिलेसम्म केही फेला परेको छैन ।
चिलिमे हाइड्रोपावरमा विदेशीसमेत सम्मिलित संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी सुरुङभित्रको भग्नावशेष हटाइरहेको छ । हालसम्म करिब ८५ मिटर सुरुङ सफा गरिएको सेनाले जनाएको छ । सुरुङनजिकै खोला वारपार गर्न तुइन जडान गर्ने कामसमेत भइरहेको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका प्रतिनिधिले संयुक्त रूपमा खोजी गरिरहेका छन् । त्रिशूली–३ ‘ए’ आयोजनाको पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ । त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्साभेटर र एउटा ब्याकहो लोडर प्रयोग गरी उत्खनन गरिरहेको छ ।
उत्खनन गर्दै आयोजनाको आवासगृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य भइरहेको सेनाले जनाएको छ । भदौ १० गतेको बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजना र पूर्वाधार क्षेत्रमा क्षति पुगेको छ । आयोजनाका सुरुङ तथा संरचनामा फसेका वा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेना, आयोजनाका प्राविधिक तथा विदेशी उद्धार टोली परिचालन भइरहेका छन् ।
आसमा आफन्त
नौ दिनपछि दुई श्रमिक जीवितै भेटिएपछि सुरुङभित्र बेपत्ता आफन्तका परिवारमा आशा अझै कायमै छ । आफन्तले मृत्यु स्विकारिसकेका छैनन् । सुरुङभित्र कतै जीवितै रहेको र उद्धार टोलीले जुनसुकै बेला बाहिर निकाल्ने विश्वासमा परिवारका दिन बितिरहेका छन् ।
यही आशामा छिन्, धनुषाको कमला नगरपालिका–६ की पूजा शाह । उनका श्रीमान् ३० वर्षीय अजय सिंह २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट बेपत्ता भएको १९ दिन बितिसकेको छ ।
पूजाले मैलुङ बजारस्थित आयोजनाको क्याम्प साइटको तल्लो भेगमा स्थलगत खोज तथा उद्धार टोली पठाइदिन पटक–पटक आग्रह गरेकी छन् । तर, अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ । ‘रसुवा त्रिशूली अपर–१, २१६ मेगावाटको मैलुङ बजार क्याम्प साइटको तल्लो भेगमा स्थलगत खोज तथा उद्धार टोली पठाइदिनुस् भनेर हारगुहार गरेको आज १९ दिन बित्यो,’ उनले भनिन्, ‘तर मेरो आवाज अझै सुनुवाइ भएन ।’
पूजाले सरकार र आयोजना निर्माणमा संलग्न दोसान कम्पनीलाई कम्तीमा एउटा हेलिकोप्टरसहित २०–२५ जनाको तालिमप्राप्त उद्धार टोली तत्काल परिचालन गरी अजयको सम्भावित क्षेत्रमा खोजी गर्न आग्रह गरेकी छन् । उनलाई पहुँच भएका र नभएका पीडितको उद्धारमा विभेद भइरहेको अनुभूति छ । ‘पहुँच नभएका पीडितको पीडा कसले सुनिदिने ?’ उनी प्रश्न गर्छिन् ।
श्रीमान्को अवस्थाबारे जानकारी पाए मात्रै पनि आफूलाई राहत हुने उनले बताइन् । सुरुङभित्र बेपत्ता व्यक्तिको खोजीमा ढिलाइ भएको उनको गुनासो छ । ‘आयोजना कम्पनीलाई मात्र जिम्मेवारी छाडेर सरकार पन्छिन हुँदैन,’ उनी भन्छिन्, ‘खोज तथा उद्धारको अवस्थाबारे नियमित अनुगमन गर्ने सरकारको दायित्व हो ।’
भोटेकोशीमा आएको बाढीपछि रसुवा क्षेत्रमा विभिन्न जलविद्युत् आयोजना तथा पूर्वाधारमा क्षति पुगेको छ । केही आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्ति पनि बेपत्ता छन् । बेपत्ता व्यक्तिका परिवारले तत्काल खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग आग्रह गर्दै आएका छन् ।
सुरुङमा बेपत्ता श्रमिकको खोजीमा भइरहेको ढिलाइले परिवारको चिन्ता झन् बढाएको छ । रौतहटको वृन्दावन–२ का २८ वर्षीय गौरवकुमार राउत पनि १० भदौको बाढीपछि बेपत्ता छन् । राउतका परिवारले अस्पतालमा गौरवको खोजी गरे । अस्पतालले उपलब्ध गराएका पहिचान नभएका शवमध्ये उनको पहिचान हुन सकेन । नदीबाट बगाएका शव उद्धार गरी तत्काल व्यवस्थापन गरिएकाले परिवारले शव हेर्नसमेत पाएनन् । पहिचानका लागि डिएनए नमुना दिएको पनि दुई हप्ता भइसकेको छ ।
सुरुङबाटै बेपत्ता भएकाले गौरव त्यहीँ फसेको हुन सक्ने परिवारको आशा छ । तर उद्धारमा भइरहेको ढिलाइप्रति परिवार निराश छ । ‘सुरुङमार्गको उद्धारमा धेरै नै ढिलाइ भएको छ,’ गौरवका काका विष्णुदयाल पटेल भन्छन्, ‘१९ दिन बितिसक्दा पनि कुनै खबर आउँदैन ।’
अन्यत्रजस्तै सुरुङमा पनि चाँडै उद्धार सुरु भएको भए जीवितै उद्धार हुन सक्ने उनको विश्वास छ । अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा सर्भे इन्स्पेक्टरका रूपमा कार्यरत गौरवको परिवार अझै ४५ दिनसम्म बाटो हेर्ने अवस्थामा रहेको पटेलले बताए । ‘१९ दिन बितिसक्दा सरकारले लास कि सासको विवरण पीडित परिवारलाई जानकारी दिनुपर्ने हो,’ उनले भने, ‘आफन्तले आश मार्ने बेला उद्धार सुरु गर्छ ।’
जलविद्युत् आयोजनाबाट बेपत्ता भएका करिब ९०० श्रमिकमध्ये केही सुरुङभित्रै फसेको हुन सक्ने उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ । पछिल्लो विवरणअनुसार तीनवटा सुरुङमा खोज तथा उद्धार केन्द्रित गरिएको छ । तर सुरुङभित्र कतिजना छन् भन्ने यकिन विवरण अझै स्पष्ट छैन ।
सुरुङभित्रको उद्धार सामान्य पहिरो पन्छाउनेभन्दा जटिल हुन्छ । लेदो, पानी, भत्किएको संरचना र साँघुरो मार्गका कारण भारी उपकरण लैजान कठिन हुन्छ । विशेष उपकरण, प्राविधिक जनशक्ति र सुरुङको संरचनाबारे जानकारी आवश्यक हुन्छ । तर उद्धारमा खटिएका परिवार तथा आयोजनासँग सम्बन्धित व्यक्तिले आवश्यक उपकरण र जनशक्ति परिचालनमा ढिलाइ भएको गुनासो गरेका छन् । सरकारले भने कठिन भौगोलिक अवस्थाबीच खोज तथा उद्धार निरन्तर भइरहेको बताउँदै आएको छ ।
सरकारका अनुसार बाढीबाट ५ हजार १ सयजना हराएका छन् । १ हजार २८६ जनाको मृत्यु भएको छ । बेपत्ता व्यक्तिका १ हजार ७७९ जना आफन्तले डिएनए नमुना दिएका छन् । सरकारले सुरुङभित्र फसेकाको जीवितै उद्धार गर्न सकिने आशा अझै देखाएको छ । विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा उद्धार टोलीले काम अघि बढाइरहेका बेला सुरुङभित्रबाट आवाजको इको सुनिनु र चिसो हावा आउनुले यस्तो आशा जगाएको पूर्वमन्त्री एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी कुलमान घिसिङ बताउँछन् ।
उनका अनुसार, सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको छ । ‘उद्धार टोलीका लागि अहिले सुरुङभित्र अघि बढेको हरेक मिटर महत्त्वपूर्ण बनेको छ,’ उनले भने, ‘प्रत्येक मिटरको प्रगति र प्राप्त हुने प्रत्येक संकेतले उद्धारमा खटिएका टोली र परिवारमा नयाँ आशा जगाएको छ ।’