२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

‘विपद्को समाजशास्त्र’मा अर्याललाई पिएचडी उपाधि

Nada
२०८३ भदौ २८ गते २१:१९
Shares
‘विपद्को समाजशास्त्र’मा अर्याललाई पिएचडी उपाधि

काठमाडौं : पिताम्बर अर्यालले भारतको राजस्थान, नवईस्थित डा. के.एन. मोदी विश्वविद्यालयबाट ‘विपद्को सामाजिक–आर्थिक प्रभाव (विपद्को समाजशास्त्र)’ विषयमा विद्यावारिधि (पिएचडी) उपाधि हासिल गरेका छन् । 

डा.अर्यालले युरोपबाट जनस्वास्थ्य (पब्लिक हेल्थ), भारतबाट समाजशास्त्र र नेपालबाट स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण, आपत्कालीन व्यवस्थापन तथा संकट प्रतिकार्यका क्षेत्रमा उनको तीन दशकभन्दा बढीको व्यावसायिक अनुभव रहेको छ ।

व्यावसायिक यात्राका क्रममा उनले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), डेनिस रेडक्रस तथा क्यानाडियन रेडक्रस लगायतका अन्तर्राष्ट्रिय संस्थामा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय भूमिकामा एक दशकभन्दा बढी समय काम गरेका छन् । 

उनको व्यावसायिक जीवनको महत्वपूर्ण हिस्सा नेपाल रेडक्रस सोसाइटीमा बितेको छ । उनले नेपाल रेडक्रस सोसाइटीको स्वास्थ्य सेवा विभाग, विपद् व्यवस्थापन विभाग तथा युवा रेडक्रस विकासमा नेतृत्वदायी जिम्मेवारी सम्हालेका थिए । उनले नेपाल रेडक्रस सोसाइटीको महासचिव (सेक्रेटरी जनरल) का रूपमा समेत सेवा गरेका छन् । 

जनस्वास्थ्य, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, आपत्कालीन प्रतिकार्य तथा पुनस्र्थापना र सामुदायिक विकासका क्षेत्रमा डा.अर्यालको विशेष दक्षता रहेको छ ।

यसैगरी, उनी हाल नेपाल युनाइट्सका वरिष्ठ सल्लाहकार (सिनियर एडभाइजर) तथा डीपीनेट नेपालका सल्लाहकार (एडभाइजर) का रूपमा कार्यरत छन् । उनी जेआईसीए एलुम्नाई एसोसिएसन अफ नेपाल तथा प्रेस एसोसिएसन अफ नेपालका आजीवन सदस्यसमेत हुन् । 

विपद् व्यवस्थापन र जनस्वास्थ्यको क्षेत्रमा लामो समयदेखि सक्रिय अर्यालले ‘विपद्को सामाजिक–आर्थिक प्रभाव’ विषयमा विद्यावारिधि हासिल गरेसँगै विपद् अध्ययन तथा व्यवस्थापनको क्षेत्रमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर