
पर्सा : पर्साको पोखरिया नगरपालिका–३ बसन्तपुरस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको छ । विद्यालयको संरचना सुधार गरी शिक्षण वातावरण सुदृढ बनाउने उद्देश्यसहित उक्त परियोजना अघि बढाइएको हो ।
लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीको पहलमा यो बजेट स्वीकृत भएको जनाइएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको प्रथम जिल्ला क्याबिनेट बैठकले विद्यालय भवन निर्माणका लागि परियोजना अनुमोदन गर्ने निर्णय गरेको हो ।
क्लबका अनुसार अध्यक्ष शमानीले आवश्यक सहयोग जुटाउन सक्रिय पहल, समन्वय र निरन्तर प्रयास गर्दै आएका थिए । परियोजना कार्यान्वयनमा आएपछि विद्यालयमा लामो समयदेखि देखिएको भौतिक पूर्वाधार अभावको समस्या समाधान हुने विश्वास गरिएको छ । यसले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
ग्रामीण तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यो परियोजनालाई महत्वपूर्ण सामाजिक पहलका रूपमा हेरिएको छ । नयाँ भवन निर्माणसँगै अध्ययन–अध्यापनका लागि आवश्यक भौतिक वातावरणमा सुधार आउने र विद्यार्थीको नियमित पठनपाठनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।
परियोजना स्वीकृतिमा सहयोग पुर्याएकोमा रामबिहारी पाण्डेयसहित जिल्ला पदाधिकारी, सदस्य तथा सहयोगीहरूप्रति लायन्स क्लब अफ पोखरिया परिवारले आभार व्यक्त गरेको छ ।
यसैबीच, अध्यक्ष शमानीलाई लायन्स क्लबको पिन लगाएर सम्मान गरिएको थियो । सम्मानपछि उनले प्राप्त विश्वास र समर्थनले थप जिम्मेवारी बढाएको उल्लेख गर्दै परियोजनालाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
विद्यालय भवन निर्माणको खबर सार्वजनिक भएसँगै बसन्तपुरका स्थानीय अभिभावकहरू खुशी भएका छन् । उनीहरूले यस परियोजनाले आफ्ना बालबालिकाको शिक्षामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन् ।