२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

स्वदेशी कुखुरा बोकेका तीन पिकअप नियन्त्रणमा लिएर भन्सारमा बुझाइएपछि रौतहटका किसान आक्रोशित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ २८ गते १५:२७
Shares
स्वदेशी कुखुरा बोकेका तीन पिकअप नियन्त्रणमा लिएर भन्सारमा बुझाइएपछि रौतहटका किसान आक्रोशित

रौतहट : भारतीय कुखुराको अवैध पैठारीका कारण स्वदेशी उत्पादनले बजार नपाएको भन्दै आन्दोलनरत रौतहटका कुखुरापालक किसान आफ्नै उत्पादन बोकेका सवारीसाधन नियन्त्रणमा लिएर भन्सार बुझाइएको घटनाप्रति आक्रोशित बनेका छन् ।

रौतहटको परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्ममा उत्पादित ब्रोइलर कुखुरा बिक्रीका लागि लैजाँदै गरेका तीन वटा पिकअप गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको टोलीले नियन्त्रणमा लिएर गौरस्थित भन्सार कार्यालयमा बुझाएको हो ।

नियन्त्रणमा लिइएका पिकअपमा बागमती प्रदेश ०१–०२७ च ८४८३, ना.५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका सवारीसाधन छन् । किसान तथा व्यवसायीका अनुसार कुखुरा ढुवानीका क्रममा आवश्यक कागजात हुँदाहुँदै पनि प्रहरीले ती सवारीसाधन नियन्त्रणमा लिएर भन्सार पठाएको हो ।

जिल्ला कुखुरा व्यावसायिक किसान संघले फार्म दर्ता प्रमाणपत्र, अनलाइन इन्ट्री, चल्ला तथा दाना खरिदका वैध बिल र भेटेरिनरी प्रमाणपत्रलगायत आवश्यक कागजात ढुवानीकर्तासँग रहेको जनाएको छ । कानुनी प्रक्रिया पूरा गरेर बजार लैजाँदै गरिएको स्वदेशी उत्पादनलाई समेत अवैध भन्दै नियन्त्रणमा लिइनु आपत्तिजनक भएको संघको भनाइ छ ।

No description available.

घटनाप्रति आपत्ति जनाउँदै संघका सचिव राधेश्याम साहले सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नियन्त्रण गर्नुपर्ने अवस्थामा स्वदेशी किसानले उत्पादन गरेको कुखुरा बोकेका गाडीमाथि कारबाही गरिनु उचित नभएको बताए ।

उनले खुला सीमाबाट भारतीय कुखुरा भित्रिने गरेको विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको तर कानुनी कागजातसहित ढुवानी गरिएको नेपाली उत्पादनलाई नियन्त्रणमा लिइएको आरोप लगाए ।

‘वास्तविक अवैध पैठारी नियन्त्रण गर्नुपर्नेमा स्वदेशी किसानले उत्पादन गरेको कुखुरा बोकेको गाडी नियन्त्रणमा लिनु दुःखद हो,’ साहले भने, ‘यसले किसान र व्यवसायीलाई निरुत्साहित बनाउने काम गरेको छ ।’

किसानहरूका अनुसार लामो समयसम्म जीवित कुखुरा नियन्त्रणमा राख्दा गर्मी, दाना र पानीको अभावका कारण ठूलो क्षति हुनसक्छ । नियन्त्रणमा रहेका कुखुरा मरेर वा नष्ट भएर आर्थिक क्षति भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उनीहरूले उठाएका छन् ।

रौतहटका कुखुरापालक किसानहरू भारतीय कुखुराको अवैध आयात रोक्न माग गर्दै विगत तीन सातादेखि चरणबद्ध आन्दोलनमा छन् । स्वदेशी उत्पादनले बजार नपाउनुका प्रमुख कारणमध्ये अवैध रूपमा भित्रिने भारतीय कुखुरा पनि रहेको उनीहरूको दाबी छ ।

सरकारले पोल्ट्री क्षेत्रलाई आत्मनिर्भर बनाउने नीति लिएको भए पनि स्वदेशी किसानकै उत्पादन ढुवानीमा अवरोध सिर्जना हुँदा लगानी जोखिममा परेको किसानहरूको गुनासो छ । उनीहरूले सीमा क्षेत्रमा हुने अवैध कुखुरा पैठारी नियन्त्रणलाई प्राथमिकता दिन र कानुनी कागजातसहित ढुवानी भइरहेका स्वदेशी कुखुरामाथि अनावश्यक कारबाही नगर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

त्यसैगरी, नियन्त्रणमा लिइएका तीन वटै पिकअप गाडी तत्काल छाड्न र घटनाबारे निष्पक्ष छानबिन गर्नसमेत किसान तथा व्यवसायीहरूले माग गरेका छन् ।

सम्बन्धित खबर