२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

Nada
२०८३ भदौ २८ गते १२:५३
Shares
महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी हुन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औं वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।

उनकाअनुसार सहरी बाढीको समस्या समाधानका लागि अध्ययनसमेत भइरहेको छ । डंगोलले विगतमा शहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने बताइन् । करिब तीन दशकअघि शुरु भएका शहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको उनको भनाइ छ ।

काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने उनले बताइन् । अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने भन्दै उनले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउन लागिएको जानकारी दिइन् । डंगोलले शहरी बाढीको समस्या समाधानका लागि दीर्घकालीन उपायबारे अध्ययन भइरहेको र अध्ययनका आधारमा थप कार्यक्रम अघि बढाइने बताइन् । 

पछिल्लो समय पानी परेपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

सम्बन्धित खबर