२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

फतुवा विजयपुरको नगरसभा स्थगित

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ २८ गते १२:४५
Shares
फतुवा विजयपुरको नगरसभा स्थगित

रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाको १०औं नगरसभा पुनः स्थगित भएको छ । लामो समयदेखि जारी राजनीतिक विवाद र प्रशासनिक किचलोका बीच आयोजना गर्न लागिएको नगरसभा स्थानीयवासी तथा जनप्रतिनिधिको विरोधपछि स्थगित भएको हो ।

माध्यमिक विद्यालय विजयपुरको परिसरमा नगरसभा सञ्चालन गर्ने तयारी गरिएको थियो । तर निर्वाचित जनप्रतिनिधिलाई पर्याप्त र विधिसम्मत रूपमा सहभागी नगराई नगरसभा सञ्चालन गर्न खोजिएको भन्दै स्थानीयवासी तथा राजनीतिक कार्यकर्ताले विरोध जनाएका थिए ।

नगरसभा सञ्चालन हुन लागेको सूचना पाएपछि पूर्वसंविधानसभा सदस्य शिव पुजन यादवको नेतृत्वमा सयौं स्थानीय विद्यालय परिसरमा पुगेका थिए । उनीहरूले विद्यालयको मुख्य प्रवेशद्वारमा नाराबाजी गर्दै नगरसभा रोक्न माग गरेका थिए । स्थानीयको विरोधका कारण केही समय अवस्था तनावपूर्ण बनेको थियो ।

सम्भावित अप्रिय घटना रोक्न घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । सुरक्षा निकायको उपस्थितिका बीच पनि स्थानीयवासीले नगरपालिकाको वित्तीय अवस्था, प्रशासनिक गतिविधि र विकास निर्माणका विषयमा प्रश्न उठाउँदै तत्काल नगरसभा सञ्चालन गर्न नहुने बताएका थिए ।

विरोधमा उत्रिएका स्थानीयको प्रमुख माग नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी रहेको भनिएको करिब ४ करोड रुपैयाँ विद्युत् महसुल भुक्तानी गर्नुपर्ने रहेको छ । लामो समयदेखि विद्युत् महसुल भुक्तानी हुन नसक्दा नगर क्षेत्रको विद्युत् सेवा तथा विकास निर्माणका काम प्रभावित भएको उनीहरूको दाबी छ ।

नगरपालिकाको वित्तीय दायित्व र जनसरोकारका विषय सम्बोधन नगरी बजेट तथा नीति–कार्यक्रम ल्याउन खोजिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । नगरसभा सञ्चालनको प्रक्रियामै निर्वाचित वडा अध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यलाई प्रभावकारी रूपमा सहभागी नगराइएको उनीहरूको आरोप छ ।

फतुवा विजयपुर नगरपालिकामा पछिल्ला वर्षहरूमा बजेट व्यवस्थापन, प्रशासनिक निर्णय, आन्तरिक नियन्त्रण प्रणाली तथा विकास योजनाको कार्यान्वयनलाई लिएर विवाद हुँदै आएको छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेपछि निर्वाचित नगर प्रमुख गोपाल यादव निलम्बनमा परेका थिए ।

नगर प्रमुख निलम्बनमा परेपछि नगरपालिकाको कार्यभार कार्यवाहक नगर प्रमुखमार्फत सञ्चालन हुँदै आएको छ । तर नगरपालिकाभित्रको आन्तरिक विवाद र जनप्रतिनिधिबीचको अविश्वास समाधान हुन नसक्दा नगरसभा सञ्चालनमा समेत समस्या देखिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि तथा अन्य सरोकारवाला पक्षबीच सहमति कायम हुन नसक्दा वार्षिक नीति, कार्यक्रम र बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको छ । समयमा नगरसभा हुन नसके नगरपालिकाका विकास निर्माणका योजना, सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य र शिक्षा क्षेत्रका नियमित प्रशासनिक कामसमेत प्रभावित हुने जोखिम रहेको स्थानीयको भनाइ छ ।

यसअघि पनि नगरसभा सञ्चालनका लागि प्रयास भए पनि विवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । पछिल्लो पटक विद्यालय परिसरमा सभा गर्ने तयारी गरिए पनि स्थानीयको विरोधपछि पुनः स्थगित भएको हो ।

नगरसभा स्थगित भएपछि अब सभा कहिले र कुन प्रक्रियाबाट सञ्चालन गर्ने भन्ने विषयमा नगरपालिकाको कार्यवाहक नेतृत्व वा प्रशासनले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

स्थानीयवासी तथा जनप्रतिनिधिले भने नगरसभाजस्तो महत्वपूर्ण संवैधानिक प्रक्रियामा पारदर्शिता, निर्वाचित प्रतिनिधिको सहभागिता र जनउत्तरदायित्व सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । उनीहरूले सहमति र विधिसम्मत प्रक्रियाबाट नगरसभा सञ्चालन गरी नगरपालिकाको विकास, सुशासन र वित्तीय अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सम्बन्धित खबर