
रौतहट : रौतहटको गौरस्थित गौर प्रादेशिक अस्पतालमा सेवा प्रवाह प्रभावकारी नभएको भन्दै सेवाग्राहीहरूको गुनासो बढ्न थालेको छ । उपचारका लागि अस्पताल पुग्ने सर्वसाधारण, विशेषगरी आर्थिक रूपमा विपन्न नागरिकले लामो समयसम्म पालो कुर्नुपर्ने, आवश्यक सेवा सहज रूपमा नपाउने तथा विभेदपूर्ण व्यवहार भोग्नुपरेको आरोप लगाएका छन् ।
स्थानीय सेवाग्राहीहरूका अनुसार अस्पतालमा पहुँच र चिनजान भएका व्यक्तिले छिटो सेवा पाउने, तर सामान्य नागरिकले घण्टौं लाइनमा बस्नुपर्ने अवस्था रहेको छ । दुर्गा भगवती गाउँपालिका–२ पिपरा भलोहियाका श्याम तिवारीले सरकारी अस्पतालमा गरिब नागरिकले अपेक्षाअनुसार उपचार सेवा पाउन नसकेको गुनासो गरे ।
उनका अनुसार बिरामी भएर अस्पताल पुग्दा कर्मचारीको व्यवहार सन्तोषजनक नहुने र उपचार प्रक्रियामा ढिलाइ हुने समस्या दोहोरिने गरेको छ । “सरकारी अस्पताल भएकाले विपन्न नागरिकको मुख्य भरोसा यही हो, तर यहाँ सामान्य बिरामीले सहज रूपमा सेवा पाउनै कठिन छ,” उनले भने ।
सेवाग्राहीहरूले अस्पतालमा आधारभूत स्वास्थ्य सेवाको व्यवस्थापन कमजोर रहेको बताएका छन् । सामान्य परीक्षणका लागि पुग्ने बिरामीले समेत समयमै ल्याब सेवा नपाउने, आवश्यक औषधिको अभाव हुने तथा चिकित्सक उपलब्ध नभएको जानकारी पाउने गरेको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार अस्पतालको भवन तथा बाहिरी संरचना व्यवस्थित देखिए पनि सेवा प्रवाहमा भने अपेक्षाअनुसार सुधार हुन सकेको छैन । कतिपय बिरामी उपचारको प्रतीक्षामा लामो समय बस्न बाध्य हुने गरेका छन् भने केही बिरामी निजी अस्पताल जान बाध्य हुने अवस्था रहेको गुनासो छ ।
अस्पतालको आन्तरिक व्यवस्थापनलाई लिएर पनि प्रश्न उठ्न थालेका छन् । अस्पतालभित्र जिम्मेवारी बाँडफाँट, कर्मचारी परिचालन तथा प्रशासनिक व्यवस्थापन प्रभावकारी नभएको आरोप सेवाग्राही तथा स्थानीयले लगाएका छन् । अनुभवी कर्मचारी हुँदाहुँदै व्यवस्थापनमा पारदर्शिता नदेखिएको भन्दै अस्पताल प्रशासनप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।
स्थानीयहरूले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील सेवामा लापरबाही हुन नहुने बताउँदै सेवा प्रवाह सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले अस्पतालमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले अनुगमन तथा छानबिन गर्नुपर्ने माग गरेका छन् ।
यता, अस्पताल प्रशासनले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको छ । अस्पताल प्रशासनले सीमित स्रोत–साधन र बढ्दो बिरामी चापका बीच सेवा सञ्चालन भइरहेको बताउँदै सेवा सुधारका लागि प्रयास जारी रहेको जनाएको छ ।
गौर प्रादेशिक अस्पताल मधेश प्रदेशकै महत्वपूर्ण सरकारी स्वास्थ्य संस्थामध्ये एक मानिन्छ । जिल्लासहित आसपासका क्षेत्रका नागरिक उपचारका लागि यही अस्पतालमा निर्भर रहने गरेका छन् । यस्तो अवस्थामा सेवा प्रवाहमाथि उठिरहेका गुनासा समयमै सम्बोधन गर्न नसकिए सर्वसाधारणको सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वास कमजोर बन्न सक्ने स्थानीयको भनाइ छ ।