२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

घातक इबोला भाइरस : उच्च सर्तकता

Nada
सपना बोहरा
२०८३ जेठ ७ गते ०६:३०
Shares
घातक इबोला भाइरस : उच्च सर्तकता

काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको प्रकोपले मे १७मा १३१ जनाको मृत्यु भयो । विश्व स्वास्थ्य संगठनले मे १७मा प्रकाशित गरेको जानकारीअनुसार यो प्रकोप (आउटब्रेक)मा ५१३ जना शंकास्पद संक्रमित देखिएका छन् । हालै अफ्रिकी महादेशको कंगोमा बुन्दिबुग्यो भाइरसका कारण इबोला रोग तीव्र गतिमा फैलिरहेको छ । इबोला भाइरस कंगोसँगै छिमेकी देश युगान्डामा पनि पुगिसकेको छ । त्यहाँ एक ५९ वर्षीय पुरुषको मृत्यु भयो । उनको परीक्षण सकारात्मक आएको थियो ।

ncell

विश्व स्वास्थ्य संगठनले यसलाई ‘अन्तर्राष्ट्रिय महत्वको जनस्वास्थ्य आपत्काल’ समेत घोषणा गरिसकेको छ । अर्थात् हाल देखिएको यो भाइरसको असाधारण तथा तीव्र फैलावटले अरू देशलाई पनि प्रभावित पार्न सक्ने जोखिम भएकाले समन्वयात्मक अन्तर्राष्ट्रिय प्रतिक्रियाको आवश्यकता देखिएको छ । डब्लुएचओले यो इबोला प्रकोप बुन्डिबुग्यो भाइरसका कारणले भएको जनाएको छ । यसका लागि कुनै औषधि वा खोप छैन । विश्वव्यापी स्वास्थ्य एजेन्सीले रिपोर्ट गरेको छ कि भाइरस कंगोबाहिर पनि फैलिएको छ । छिमेकी मुलुक युगान्डामा दुईवटा केस देखिएका छन् । कंगोका छिमेकी देशहरूलाई मानव आवागमन, व्यापार र यात्राको उच्च स्तरका कारण भाइरसका लागि बढी जोखिमका रूपमा लिएको छ । अफ्रिकी देशहरूबाट नेपालीहरूको आवतजावत बढ्दो क्रममा छ । पर्यटकको संख्या पनि बढिरहेको छ । यस्तो अवस्थामा संक्रमण कुनै पनि समयमा नेपालसम्म आइपुग्न सक्ने सम्भावना रहन्छ ।

शून्य जोखिममा छैनौं : मन्त्रालय 

यता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने कंगोलगायत विभिन्न देशमा फैलिएको इबोला भाइरसबाट नेपाल पनि शून्य जोखिममा नरहेको जनाएको छ । नेपालमा अहिले तत्काल उच्च जोखिम नरहे पनि विश्वव्यापी यात्रा र आवतजावतका कारण पूर्ण रूपमा सुरक्षित भन्न नसकिने मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसी बताउँछन् । उनले अन्तराष्ट्रिय उडानमा यात्रुको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको बताएका छन् । उनी भन्छन्, शून्य जोखिम होइन, अहिलेको अवस्थामा धेरै जोखिम पनि होइन, किनभने त्यहाँका यात्रु र बिरामीलाई क्वारेन्टाइनमै राखिएको छ, उनीहरूको सम्पर्क पनि खोजिरहेको छ । नेपाल भूगोलबाट पनि टाढा रहेकाले त्यति जोखिम छैन, तर सचेतचाहिँ हुनुपर्छ ।’

एयरपोर्टमा रहेको हेल्थडेस्क टिमलाई इबोला भाइरसको लक्ष्णलाई विशेष रूपमा हेर्ने निर्देशन दिएको उनले बताए । ‘अन्य देशबाट आएका शंकास्पद बिरामीलाई स्क्रिनिङमा कडाइ गरेका छौं, लक्षण देखिएका व्यक्तिलाई तुरुन्त आइसोलेसनमा राख्ने प्रणाली बनाइएको छ,’ उनले भने, ‘हेल्प डेस्कलाई सतर्कतामा राखेका छौं, क्वारेन्टाइनको व्यवस्था छ, आपत्कालीन अवस्थाका लागि आवश्यक पर्ने स्वास्थ्यसामग्री तयारी अवस्थामा छ ।’ मन्त्रालयले केन्द्रीय स्तरमा निगरानी संयन्त्र सक्रिय बनाएको छ भने प्रयोगशालालाई परीक्षणका लागि तयारी अवस्थामा राखिएको छ । इबोला अत्यन्त घातक भए पनि समयमै पहिचान, आइसोलेसन र निगरानीमार्फत नियन्त्रण गर्न सकिने उनले बताए । 

के हो इबोला ?

विश्व स्वास्थ्य संगठनका अनुसार, बुन्डिबुग्यो इबोला भाइरस इबोलाका मुख्य प्रजातिमध्ये एक हो । इबोला भाइरसबाट सर्ने एकप्रकारको रोग हो । यो रोग संक्रमण भएका चिम्पान्जी, चमेरो र जंगली मृगजस्ता जनावरहरूसँगको निकट सम्पर्कबाट मानिसमा सर्ने गर्छ । इबोला संक्रमणको सबैभन्दा खतरनाक पक्ष भनेको यसको उच्च संक्रमकता रहेको उनी बताउँछन् । यद्यपि यो हावाबाट फैलिँदैन, तर संक्रमित व्यक्तिको शरीरका तरल पदार्थसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्ने गर्छ । रगत, बान्ता, पिसाब, दिसा, थुक, पसिना वा वीर्यजस्ता शरीरका तरल पदार्थबाट भाइरस सजिलै सर्न सक्छ । संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्रीबाट समेत संक्रमण फैलिन सक्छ । इबोलाबाट मृत्यु भएका मानिसहरूको शवसँग प्रत्यक्ष सम्पर्क हुने अन्य मानिसलाई पनि यो रोग सर्न सक्छ ।

यस्ता छन् लक्षण

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, यो भाइरसको सुरुवाती लक्षण सामान्य ज्वरो, टाइफाइड वा मलेरियासँग मिल्दोजुल्दो हुन्छ । ज्वरो आउने, शरीर दुख्ने, अत्यधिक थकान महसुस हुने, घाँटी दुख्ने, कमजोरी बढ्नेजस्ता लक्षण सुरुमा देखिन्छन् । पछि गएर रक्तस्रावसम्बन्धी गम्भीर समस्या पनि देखिन सक्छ । यी सुरुआतका लक्षणहरू मात्र हुन्, त्यसपछि बान्ता हुने, झाडा पखाला लाग्ने र कसैकसैलाई आन्तरिक र बाहिरी रूपमा रगत बग्ने पनि हुन्छ । यो भाइरस संक्रमण भएपछि संक्रमित मानिसमा रोगको लक्षण देखा पर्न लाग्ने समय, इन्क्युबेसन पिरियड, दुइ दिनदेखि तीन हप्तासम्मको हुन्छ र यसको पहिचान गर्न पनि गाह्रो छ । 

विगतमा यसको प्रकोप धेरैपटक नदेखिए पनि अत्यन्त खतरनाक भाइरस भएको डा. पुन बताउँछन् । समस्या थप जटिल बन्दै गएमा यसले मिर्गौला, कलेजो तथा स्नायु प्रणालीमा समेत असर गर्ने उनी बताउँछन् । उनका अनुसार विगतका अध्ययनले यसको मृत्युदर औसत ४० प्रतिशत हाराहारी देखाएको छ । समग्र इबोलाको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्ने गरेको छ । ‘इबोलालाई पनि हल्का रूपमा लिन मिल्दैन । हाम्रो देशमा सरसफाइ, निगरानी र स्वास्थ्य तयारीको अवस्था अझै कमजोर भएकाले दीर्घकालीन तयारी आवश्यक छ,’ उनले भने ।

ताजा खबर

सम्बन्धित खबर