
काठमाडौं : बुढानीलकण्ठ अस्पतालले तिलगंगा आँखा अस्पतालको सहकार्यमा दुईदिने बृहत् निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।
नगर अस्पतालमा आयोजना भएको शिविरमा आँखाको चेकचाँज, आवश्यकताअनुसार औषधि तथा चस्मा वितरण र मोतियाविन्दुका समस्या भएकाहरूलाई निःशुल्क शल्यक्रिया समेत गर्ने योजना रहेको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बताए ।

नगरप्रमुख अधिकारीले नगरवासीहरूका लागि आँखा शिविर मात्र नभइ अन्य स्वास्थ्य सेवामा समेत पहुँच वृद्धि गर्ने योजनाअनुसार निरन्तर विभिन्न स्वास्थ्य सेवा दिइरहेको बताए ।
नगरवासीको स्वास्थ्य सरोकारमा नगरपालिकाले यसअघि पनि विशेष प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको बताउँदै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष शम्भु भट्टराईले आँखा शिविरले यस क्षेत्रका नागरिकको आँखा जन्य समस्याको पहिचान गर्न सहयोग पुग्ने बताए । उनले नगरवासीको स्वास्थ्य सरोकारका बिषयमा नगरपालिका सदैव सचेत रहेको बताए ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोपालप्रसाद पोखरेलले आफ्ना सेवाग्राहीलाई २४ घण्टे आकस्मिक सेवासहित विशेष स्वास्थ्य सेवाका कार्यक्रम अन्तर्गत बृहत् आँखा शिविर आयोजना गरिएको बताए । उनले शिविरमा उपस्थित भएका सेवाग्राहीलाई आवश्यकताअनुसार सबै सेवा निःशुल्क प्रदान गरिने जानकारी दिए ।
यस्तै, तिलगंगा आँखा प्रतिष्ठान बाह्य आँखा कार्यक्रमका अधिकृत महेश पराजुलीले बढी भन्दा बढी सेवाग्राहीसम्म सेवा प्रवाह गर्न बुढानीलकण्ठ अस्पतालसँग सहकार्य गरिएको बताए । उनले शिविरमा सहभागी हुनेहरूलाई पूर्ण रुपमा निःशुल्क सेवा प्रदान गरिने बताए । पराजुलीले ४० बर्ष उमेर पार गरेका हरेक व्यक्तिले अनिवार्य रुपमा एकपटक आँखा चेकजाँच गर्नुपर्ने बताउँदै मधुमेह र उच्च रक्तचापका विरामीले हरेक बर्ष आँखाको चेकजाँच गर्नुपर्ने सुझाव दिए ।

