
काठमाडौँ : पाल्पा बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डे, जसले गर्भपतन गराउने क्रममा ज्यान गुमाईन् । गर्भमा रहेको १२ हप्ताको बच्चा अस्वस्थ्य रहेको भन्दै उनले श्रीमानकै सल्लाहमा गर्भपतन गराउने निर्णय गरेकी थिइन् ।
उनले बुटवल इँटाभट्टीमा रहेको खत्री नर्सिङ होममा गर्भपतन गराउने निधो गरिन् । उनी पहिले पनि उक्त संस्थामा स्वास्थ्य जाँच गराउन गएकी थिइन् । गत चैत्र २७ गते स्वास्थ्य जाँच गराउन पुगेकी गीतालाई उक्त संस्थाका डाक्टर डीबी खत्रीले गर्भ असामान्य भएको बताउँदै ४ वैशाखका लागि बोलाए । गीता ५ वैशाखमा खत्री नर्सिङ होम पुगिन् । त्यसपछि नर्सिङ होमले बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा औषधि किन्न पठायो । फार्मेसीले १६ हजार शुल्क बराबरको औषधि उनको हातमा थमायो । गीताका श्रीमान प्रकाश पाण्डेले २ हजार एड्भान्स तिरेर दुईथरी औषधि लिएर आएको बताए ।
फार्मेसीले दिएको दुई वटा औषधि साँझ १ गोली र बिहान १ गोली खाएको गीताका श्रीमानले बताए । फार्मेसीले भनेकै आधारमा औषधि खाएको उनको भनाइ छ । अर्को दिन बोलाएकै समयमा जोनल फार्मेसी पुगेका पाण्डे दम्पतीलाई त्यतैबाट इन्दुलेखा क्लिनिकमा लगियो । इन्दु लेखा क्लिनिकमा पुर्याई गर्भपतन गराउने क्रममा गीताको मृत्यु भयो । उक्त क्लिनिकमा डा. सतिश रुपाखेतीले गीतको चेकजाँच गरेका थिए ।
श्रीमती बेहोस् भइसकेपछि आफूलाई कुनै जानकारी नदिई लुम्बिनी सिटी अस्पताल लैजाँदा डाक्टरले मृत घोषित गरेको गीताका श्रीमानले बताए । प्रकाशले श्रीमती गीताको मृत्युमा मुख्य दोषी भएको आरोप लगाउँदै डा. डीबी खत्री र डा. सतिश रुपाखेतीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।
गर्भपतन गाराउने क्रममा आफ्नो श्रीमतीको स्वास्थ्यमाथि खेलवाड भएको कुरा श्रीमान प्रकाशले त्यतिबेला थाहा पाए जतिबेला गीताको मृत्यु भइसकेको थियो । क्लिनिकले स्वास्थ्य जाँच गरेको फाइलसमेत गायव पारेपछि भने उनी लापरवाहीले श्रीमतीको ज्यान गएको भन्ने राम्ररी बुझे । फार्मेसीमा किनेको औषधि डाक्टरको सल्लाहमै खाँदा पनि गीताको ज्यान गएपछि भने गर्भपतन कति सुरक्षित छ भन्ने विषयमा प्रश्न उठ्न थालेको छ ।
श्रीमतीको मृत्यु पछि श्रीमान प्रकाशले प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसकै आधारमा खत्री नर्सिङ होमका सञ्चालक डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । पाण्डेले डा. खत्री र रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । सोही आधारमा जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती तथा इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेलाई प्रहरीले मंगलबार बिहान नै पक्राउ गरेको थियो ।
यो एउटा प्रतिनिधि घटना हो । यस्ता थुप्रै घटना छन् जसले गर्भपतनका नाममा महिलाको अकालमा ज्यान लिने गर्छ । गर्भपतन महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषय हो । स्वास्थ्य विज्ञहरूका अनुसार सुरक्षित र असुरक्षित दुबै प्रकारका गर्भपतनले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रभाव पार्छ । उचित चिकित्सकीय निगरानीमा गरिएको गर्भपतन सामान्यतया सुरक्षित मानिए पनि असुरक्षित तरिकाले गरिए गम्भीर जटिलता निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन् ।
गर्भपतन महिला स्वास्थ्यसँग सम्बन्धित विषय हो । नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिइएको छ । जटिल र बाध्यकारी अवस्थामा रहेका गर्भपतन गर्न सकिने कानुनी व्यवस्था छ । दुवै सेवाहरू अधिकांश सरकारी अस्पताल तथा केही गैरसरकारी स्वास्थ्य संस्थामा पनि उपलब्ध छन् । यद्यपि जथाभावी गर्भपतन गराउनु असुरक्षित हुने स्वास्थ्यविद्हरू बताउँछन् ।
अहिले गर्भपतन सुलभ नै भइसकेको छ । सामान्यतया १२ हप्ता र विशेष अवस्थामा १८ हप्तासम्मका गर्भपतन गर्न कानुनले नै अनुमति दिन्छ । तर सुरक्षित भनिएका गर्भपतनले पनि महिलाका स्वास्थ्यमा नकारात्मक असर भने पार्ने देखिन्छ ।
प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीबिना, आवश्यक चिकित्सकीय उपकरण वा स्वीकृत विधि प्रयोग नगरी गरिएको गर्भपतन असुरक्षित हुने डाक्टर नितेश घिमिरे बताउँछन् । ‘असुरक्षित गर्भपतनले महिलाको ज्यानसम्म जोखिममा पार्न सक्छ’ उनी भन्छन्, ‘गर्भपतन हतारको निर्णय हुनु हुँदैन, मानसिक रूपमा महिला पूर्ण रूपमा तयार नभएसम्म गर्भपतन गराउनु हुँदैन ।’
उनका अनुसार सुरक्षित तरिकाले गरिएको गर्भपतनपछि सामान्यतया केही दिनसम्म पेट दुख्ने, रक्तस्राव हुने र कमजोरी महसुस हुने जस्ता लक्षण देखिन सक्छन् । तर असुरक्षित गर्भपतनले अत्यधिक रक्तस्राव, संक्रमण, पाठेघरमा चोट, भविष्यमा गर्भधारणमा समस्याजस्ता असर देखिन सक्ने डाक्टर घिमिरे बताउँछन् ।
अस्पताल र क्लिनिकमै गरिने कतिपय गर्भपतन पनि असुरक्षित हुने गरेको उनको भनाइ छ । प्रशिक्षित स्वास्थ्यकर्मीले मात्र सुरक्षित गर्भपतन गराउन सक्ने भन्दै उनले गर्भपतनभन्दा पहिले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको पृष्ठभूमि अध्ययन गर्न सुझाव दिए ।
सरकारले गर्भपतनको औषधि किनबेचको लागि निश्चित मापदण्ड बनाएको भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । आफैं औषधि किनेर परामर्श र सल्लाहबिना जथाभावि प्रयोग गर्दा त्यसले दुर्घटना निम्त्याउन सक्ने स्वास्थ्यविद्हरू बताउँछन् ।
प्रारम्भिक गर्भावस्था अथवा सामान्यतया ९–१२ हप्तासम्मका गर्भपतनका लागि औषधिको प्रयोग पनि गर्न सकिन्छ । थप विकसित गर्भावस्था भएमा चिकित्सकले शल्यक्रियामार्फत गर्भपतन गराउँछन् । यी दुवै विधि दक्ष डाक्टरले सुरक्षित तरिकाले गराउन सक्ने डाक्टर घिमिरेले बताए ।