२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा. दिनेशनाथ गोंगलको निधन

Nada
२०८३ वैशाख ८ गते १३:२०
Shares
नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा. दिनेशनाथ गोंगलको निधन

काठमाडौं : नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा. दिनेशनाथ गोंगलको निधन भएको छ । उनको आफ्नै घरमा मंगलबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो । 

ncell

उनले आफ्नो करिअरभरि न्युरोसर्जरी मात्र होइन, पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक सफलतापूर्वक सम्पन्न गरेका थिए । उनी चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) का संस्थापक निर्देशक समेत थिए ।

वीर अस्पतालमा करिब चार दशक सेवा दिएका उनले ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए । चिकित्सा क्षेत्रमै सीमित नरही उनले युवावस्थामा प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए । पम्प्लेट वितरण र जुलुसमा सहभागिताका कारण उनी पक्राउ समेत परेका थिए ।

उनले वीर अस्पतालमा काम सुरु गर्दै सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थाले । त्यतिबेला न पर्याप्त उपकरण थिए, न आधुनिक निगरानी प्रणाली । तर पनि उनले जोखिम मोलेर नयाँ विधिहरूको सुरुवात गरे ।

उनको योगदानले नेपालमा आधुनिक शल्यचिकित्साको आधार निर्माण गरेको मानिन्छ  । उनको मंगलबार नै दाहसंस्कार गर्ने तयारी भएको छ । 

ताजा खबर

सम्बन्धित खबर