२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

ओपिडी दुई दिन बन्द : सरकारले दिन सकेन विकल्प

Nada
सपना बोहरा
२०८३ वैशाख ५ गते ०६:४०
Shares
ओपिडी दुई दिन बन्द : सरकारले दिन सकेन विकल्प

काठमाडौं : सरकारले शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय ग¥यो । इन्धन समस्याको कारण देखाउँदै दिइएको दुईदिने बिदा सरकारी स्वास्थ्य संस्थाका हकमा भने लागू गरिएन । ती संस्था आइतबार पनि खुल्ने निर्णय गरियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अस्पतालले भने हप्तामा पाँच दिन मात्रै अस्पताल चलाए ।

ncell

नेपाल चिकित्सक संघलगायतको निरन्तर विरोधपछि सरकार एक सातामै निर्णय सच्याउन बाध्य भयो । निर्णय उल्टिएसँगै अब सरकारी अस्पतालहरूमा पनि बहिरंग (ओपिडी) सेवा आइतबार पनि बन्द हुनेछ । 

स्वास्थ्यमन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा. विकास देवकोटा र १४ वटा पेसागत संगठनका प्रतिनिधिबीच मन्त्रालयमा भएको छलफलपछि सरकारले यो निर्णयमा लचकता देखाएको हो । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकार निर्णय फेर्न बाध्य भएको हो । संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको संयोजकत्वमा रहेको दबाब समूहले स्वास्थ्यकर्मी पनि अन्य सरकारी कर्मचारीसरह दुई दिन बिदाको हकदार हुनुपर्ने माग गर्दै आएको थियो । उनीहरूले बढ्दो कार्यबोझ र मानसिक तनावलाई कारण देखाउँदै आन्दोलनको चेतावनीसमेत दिएका थिए ।

ओपिडी सेवा बन्द हुने भएपछि हजारौं नागरिक सेवाबाट वञ्चित हुने भएका छन् । मौसमअनुसार प्रकोप फैलिरहने गरेकोमा ओपिडी सेवा बन्द गरिँदा नागरिक प्रभावित छन् । दुई दिन बिदा दिँदा नागरिकको स्वास्थ्यमा प्रभाव परे पनि स्वास्थ्य मन्त्रालयले भरपर्दो विकल्प दिन सकेको छैन । 

शनिबार र अन्य सार्वजनिक बिदामा सामान्य नागरिकले उपचार नपाएको गुनासो गर्छन्, ललितपुरका रोहित मानन्धर । उनको फलोअपको पालो आइतबार थियो । आइतबार बन्द हुने भएपछि उनी शुक्रबारै वीर अस्पताल गए । तर त्यो दिन डाक्टर नआएपछि उनी जाँच नगराई फर्किन बाध्य भए । ‘शनिबार उपचार गराउन जाँदा इमरजेन्सी होइन भनेर जाँच नै गर्दैनन्,’ उनले भने, ‘निजीमा गएर महँगो पैसा तिरेर उपचार गराउनुप¥यो ।  झन् दुई दिन ओपिडी बन्द हुँदा सामान्य नागरिकको अवस्था के होला ?’ उनले भने । 

स्वास्थ्य मन्त्रालयले भने स्वास्थ्य सेवा निरन्तर र व्यवस्थित रूपमा सञ्चालन हुने प्रबन्ध मिलाएको जनाएको छ । बिरामीको नियमित उपचार र निगरानी प्रभावित नहोस् भन्ने उद्देश्यले आकस्मिक तथा अन्तरंग सेवाहरू २४सै घण्टा सञ्चालनमा रहने व्यवस्था यथावत् राखिएको जनाएको छ । 

आइतबारका लागि तय गरिएका शल्यक्रियालगायतका सेवा बिरामीको अवस्था हेरी पुनः तालिका मिलाइनेछ । आपत्कालीन अवस्थामा बिरामीलाई आवश्यक परेमा नजिकको उपयुक्त अस्पतालमा रिफर गर्ने व्यवस्था तथा एम्बुलेन्स सेवा निरन्तर तयारी अवस्थामा रहने मन्त्रालयले जनाएको छ ।

आइतबार ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा चौबीसै घण्टा खुला रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर के.सी बताउँछन् । उनले भने, ‘ओपिडी सेवा थोरै पोस्टपोन्ड गरे पनि हुने सेवा हुन्, इमरजेन्सी सेवा त जतिबेला जहाँबाट लिए पनि हुन्छ ।’ उनी भन्छन्, ‘ओपिडी सेवाभित्र इमरजेन्सी हुन्छ, आइसियू हुन्छ, अन्तरंग सेवा, सिसियू आइसियू सेवा चौबीसै घण्टा सञ्चालन हुन्छ । आजका दिनसम्म सार्वजनिक बिदामा सेवा बन्द भएको छैन ।’ 

तर बिदामा सरकारी कर्मचारीसँग समन्वय गर्न समस्या परेको उनको भनाइ छ । ‘एउटा अस्पतालमा स्वास्थ्यकर्मी मात्र हुँदैन, प्रशासनलगायत अन्य कर्मचारी पनि हुन्छन्,’ उनले भने । आइतबार सेवा दिएर अन्य दिन सट्टा बिदा दिने गरेको थियो, आइतबार बिदा दिएको हो कि होइन भन्ने नै स्पष्ट भएन ।’ 

दुई दिन ओपिडी सेवा बन्द हुँदा बिरामी र अस्पताललाई प्रभाव पर्ने उनले बताए । सोमबारदेखि शुक्रबारसम्मको बिरामीको चाप व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित अस्पतालले नै लिनुपर्ने उनले बताए । 

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की नेपाल सरकारको राजपत्रमा सरकारी कार्यालय र शैक्षिक संस्था पाँच दिन सञ्चालन गर्ने निर्णय भएको बताउँछन् । सोहीअनुसार नै स्वास्थ्य सेवा पनि हप्तामा दुई दिन बन्द हुने उनको भनाइ छ । ‘स्वास्थ्य संस्थामा के रोबर्ट राखेर चलाउँछन्, यसलाई भाष्य नबनाऔं, इमरजेन्सी सेवा खुला छ ।’ 

इमरजेन्सी सेवा र ओपिडी सेवा छुटयाउनुपर्ने उनले बताए । ‘इमरजेन्सी सेवामा तुरुन्त उपचार पाउनुपर्‍यो, समस्या विकराल हुन सक्छ, ज्यान जान सक्छ,’ उनले भने, ‘ओपिडी सेवा भनेको अर्को दिन उपचार गर्दा पनि घातक हुँदैन ।’ 

मन्त्रालयले बिदाका दिन पनि स्वास्थ्य सेवा अवरुद्ध नहुने गरी आवश्यक प्रबन्ध गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । साथै, उपलब्ध सेवासम्बन्धी जानकारी नियमित रूपमा वेबसाइट र सूचना बोर्डमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर