
प्युठान : पहाडी जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै पनि धेरैका लागि चुनौतीकै विषय हो । तर पछिल्लो समय प्युठान जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्था प्युठान अस्पतालले विस्तार गरेको सेवा र बढ्दो बिरामीको चापले भने एउटा सकारात्मक परिवर्तनको संकेत दिइरहेको छ ।
दैनिक करिब ४ सयसम्म बिरामीले ओपिडी सेवा लिने गरेका छन् । यो संख्या केवल तथ्यांक मात्र होइन, अस्पतालप्रतिको बढ्दो विश्वासको प्रतिविम्ब पनि हो । विगतमा सामान्य उपचारका लागि समेत जिल्ला बाहिर धाउनुपर्ने बाध्यता भोगेका स्थानीय अहिले भने आफ्नै जिल्लामा सेवा पाउँदा केही सहज भएको अनुभव सुनाउँछन् ।
अस्पतालमा मिर्गौला डायलासिस सेवा र शिशु स्याहार इकाइ सञ्चालनमा आएपछि उपचारको स्वरूप नै फेरिएको छ । जटिल प्रसूति, नवजात शिशुमा देखिने समस्या वा आकस्मिक अवस्थाहरूमा पहिले बुटवल वा नेपालगञ्ज रिफर गर्नुपर्ने अवस्था थियो ।
बालरोग विशेषज्ञ डा. शुवास पौडेलका अनुसार अहिले धेरैजसो जटिल केसहरू जिल्लामै व्यवस्थापन गर्न सम्भव भएको छ । “पहिले शल्यक्रिया वा नवजात शिशुमा समस्या देखिँदा तत्काल बाहिर पठाउनुपर्ने बाध्यता थियो,” उनी भन्छन्, “तर अहिले विशेषज्ञ टोली र उपकरण उपलब्ध भएपछि धेरै बिरामीलाई यहीँ उपचार दिन सकिन्छ।”
यसले बिरामीका लागि समय, खर्च र जोखिम- तीनै पक्षमा राहत दिएको छ । विशेषगरी दुर्गम गाउँबाट आउने गर्भवती महिला र नवजात शिशुका अभिभावकका लागि यो सेवा जीवनरक्षक सावित भइरहेको छ ।
सेवा विस्तारसँगै प्युठान अस्पतालले अब आफ्नै जिल्लामा सीमित नरही छिमेकी जिल्लाबाट समेत बिरामी तान्न थालेको छ । अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्टका अनुसार गुल्मी, अर्घाखाँची र रोल्पाबाट समेत बिरामी आउने क्रम बढ्दो छ ।
उनका अनुसार आधुनिक प्रयोगशाला, डायलासिस सेवा र विशेषज्ञ चिकित्सकको उपलब्धताले अस्पतालको विश्वसनीयता बढाएको छ । ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि यो एउटा महत्वपूर्ण उदाहरण बनेको छ ।
निःशुल्क डायलासिस सेवा: प्रक्रिया पूरा, निर्णय अधुरो
यद्यपि सेवा विस्तारसँगै केही अपूर्णता अझै बाँकी छन् । विशेषगरी विपन्न नागरिकका लागि लक्षित निःशुल्क डायलासिस सेवा अझै सुरु हुन सकेको छैन ।
अस्पतालले आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको भए पनि केन्द्रीय स्तरबाट स्वीकृति नआउँदा सेवा रोकिएको छ । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलका अनुसार नर्सिङ महाशाखाबाट अनुमति नआएकै कारण निःशुल्क सेवा कार्यान्वयन हुन नसकेको हो ।
यसले आर्थिक अभाव झेलिरहेका मिर्गौला रोगीहरूलाई अझै पनि नियमित उपचारका लागि खर्च जुटाउन संघर्ष गर्नुपरेको छ । स्वास्थ्य सेवा विस्तार भए पनि नीतिगत ढिलाइले त्यसको पूर्ण लाभ जनतासम्म पुग्न नसकेको यो एउटा उदाहरण बनेको छ ।
अस्पतालको सुधार यात्रामा अन्तर्राष्ट्रिय सहयोगी संस्थाको भूमिका पनि महत्वपूर्ण रहँदै आएको छ । विशेषगरी ‘निक्सायमन्ट’ नामक संस्थाले विगत केही वर्षदेखि जनशक्ति, उपकरण र पूर्वाधार विकासमा वार्षिक करिब साढे दुई करोड रुपैयाँ सहयोग गर्दै आएको थियो ।
तर उक्त संस्था आगामी असारदेखि बाहिरिने भएपछि अस्पतालमाथि आर्थिक र व्यवस्थापकीय दबाब बढ्ने देखिएको छ । अस्पताल प्रशासनले यसलाई सेवा निरन्तरताका लागि चुनौतीका रूपमा लिएको छ ।
प्रदेश सरकारको ध्यानाकर्षण
यस विषयमा प्रदेश तहमा पनि आवाज उठ्न थालेको छ । प्रदेश सांसद निमा गिरीले प्रदेश सभामा अस्पतालको सेवा जोगाउन र अझ विस्तार गर्न आवश्यक बजेट तथा योजना तत्काल ल्याउनुपर्नेमा जोड दिएकी छन् ।
उनले सहयोगी संस्थाको बहिर्गमनपछि सिर्जिने खालीपन पूर्ति गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिन् । “अहिलेसम्मको उपलब्धिलाई जोगाउन र सुदृढ बनाउन समयमै निर्णय हुनुपर्छ,” उनको भनाइ छ ।
अस्पतालले सेवा सुधार गर्दै जाँदा केही चुनौती अनपेक्षित रूपमा पनि देखिएका छन् । अध्यक्ष विष्टका अनुसार केही निजी क्लिनिक सञ्चालकहरूले बिरामी तान्ने उद्देश्यले अस्पतालबारे भ्रमपूर्ण सूचना फैलाउने गरेको गुनासो आएको छ ।
उनले यस्तो प्रवृत्तिले सेवाग्राहीलाई अन्योलमा पार्ने र सार्वजनिक स्वास्थ्य संस्थामाथिको विश्वास कमजोर पार्ने खतरा रहेको बताए ।
डायलासिस र शिशु स्याहार इकाइजस्ता सेवा विस्तारले प्युठान अस्पताललाई अब जिल्ला मात्र होइन, क्षेत्रीय स्तरको भरोसायोग्य स्वास्थ्य केन्द्रको रूपमा उभ्याउँदै लगेका छन् ।
तर यी उपलब्धिलाई दिगो बनाउन वित्तीय स्रोत, नीतिगत निर्णय र संस्थागत समन्वय अपरिहार्य देखिन्छ । विशेषगरी निःशुल्क डायलासिस सेवा जस्ता जनमुखी कार्यक्रम समयमै कार्यान्वयनमा आउन सके मात्र विपन्न नागरिकले यसको वास्तविक लाभ पाउनेछन् ।