
काठमाडौं : बुढानीलकण्ठ नगरपालिकामा सञ्चालित बुढानीलकण्ठ नगर अस्पतालले स्थापनाको छोटो अवधिमै स्थानीय बासिन्दाको विश्वास जित्दै सेवा विस्तारको तयारी गरेको छ । अस्पतालले दोस्रो वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको विवरण अनुसार दुई वर्षमा ६१ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।
अस्पतालका अनुसार पहिलो वर्षको तुलनामा दोस्रो वर्ष सेवा लिने बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हाल अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, हाडजोर्नीसम्बन्धी विशेषज्ञ उपचार तथा बालरोग क्लिनिक सञ्चालन गर्दै आएको छ । यसले सामान्यदेखि जटिल स्वास्थ्य समस्याका लागि बाहिर धाउनुपर्ने अवस्थालाई घटाएको अस्पताल प्रशासनको दाबी छ ।
नगरप्रमुख मिठाराम अधिकारीले अस्पतालको सेवा थप प्रभावकारी बनाउन नागरिकको प्रत्यक्ष सहभागितालाई प्राथमिकता दिइएको बताए । उनले सेवासम्बन्धी सुझाव वा गुनासो भए सिधै आफूलाई जानकारी गराउन आग्रह गर्दै सेवाग्राही सन्तुष्टि मुख्य लक्ष्य रहेको स्पष्ट पारे ।

यस्तै, उपप्रमुख अनिता लामाले दक्ष र योग्य स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएकाले गुणस्तरीय सेवा सुनिश्चित भएको बताइन् । उनका अनुसार अस्पतालमा ‘हाम्रा मान्छे’ भन्दा पनि सक्षम जनशक्तिलाई प्राथमिकता दिइएको छ ।
अस्पतालले आगामी २०८२ मङ्सिरदेखि विशेषज्ञ सेवाको दायरा अझ विस्तार गर्ने योजना बनाएको छ । साथै, सुत्केरी सेवालाई थप सुदृढ बनाउन ‘बर्थिङ सेन्टर’ विकास गर्ने लक्ष्य लिइएको छ, जसबाट महिला, बालबालिका र ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
हाल अस्पतालले १० प्रकारका स्वास्थ्य सेवाहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ, जसले विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई राहत दिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला लगायतका विज्ञको परामर्शमा सञ्चालन भइरहेको अस्पतालले आगामी दिनमा थप विशिष्टीकृत सेवा विस्तार गर्ने तयारी गरेको छ । स्थानीय स्तरमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएपछि महँगा निजी अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः हट्दै गएको स्थानीयको अनुभव छ ।
