
मान्म, कालीकोट : कर्णाली प्रदेशको दुर्गम क्षेत्र कालीकोटस्थित जिल्ला अस्पतालले पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार गर्दै सेवा प्रवाहमा नयाँ भरोसा दिलाएको छ । कुनै समय उपचार नपाएर बिरामीहरूलाई डोकोमा बोकेर लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको यस क्षेत्रमा अहिले भने अस्पतालमै उपचार पाएर बिरामीहरू स्वस्थ भई घर फर्किने क्रम बढेको छ ।
अस्पतालले न्यूनतम सेवा मानक (एमएसएस) मूल्यांकनमा ८६ प्रतिशत अंक प्राप्त गर्दै कर्णाली प्रदेशकै उत्कृष्ट अस्पतालको रूपमा स्थान बनाएको छ । यसले अस्पतालको सेवा गुणस्तरमा आएको सुधारलाई पुष्टि गरेको छ ।
अस्पताल प्रशासनका अनुसार हाल यहाँ कर्णाली प्रदेशमै सबैभन्दा बढी थाइराइड तथा ब्लड कल्चर परीक्षण सफलतापूर्वक भइरहेको छ । अस्पतालका व्यवस्थापक डा. रत्नवीर सुनारका अनुसार निकट भविष्यमै भिटामिन बी१२ र भिटामिन डी परीक्षण सेवा सुरु गर्ने तयारी भइरहेको छ ।
सेवामा सुधार आए पनि अस्पतालले अझै केही आधारभूत पूर्वाधारको अभाव झेलिरहेको छ । विशेषगरी आफ्नै ब्लड बैंक नहुँदा जटिल शल्यक्रियाका क्रममा रगत व्यवस्थापन ठुलो चुनौती बनेको छ । आवश्यक पर्दा चिकित्सकहरू स्वयंले रगत दान गर्नुपर्ने वा बाह्य दातामा निर्भर रहनुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ ।
डा. सुनारका अनुसार ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटीको पहल अत्यन्त आवश्यक छ । उनले सरकारले यसतर्फ ध्यान दिएर समाधान गरिदिने अपेक्षा गरे ।
त्यस्तै, चिकित्सक डा. दर्शनराज पाण्डेले शल्यक्रिया अघि नै रगतको सुनिश्चितता गर्नुपर्ने बाध्यता रहेको बताउँदै यसको अभावले उपचार प्रक्रियामा जोखिम थपिएको उल्लेख गरे ।
अस्पतालमा हाडजोर्नी विशेषज्ञको अभावका कारण धेरै बिरामीले अझै पनि पूर्ण उपचार सेवा पाउन सकेका छैनन् । केही दक्ष चिकित्सक भए पनि आवश्यक उपकरण र विशेषज्ञ जनशक्तिको कमीले सेवा विस्तारमा अवरोध उत्पन्न भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
सुधारोन्मुख अवस्थामा रहेको कालीकोट जिल्ला अस्पताललाई थप पूर्वाधार, विशेषज्ञ जनशक्ति र उपकरणको आवश्यकता रहेको सरोकारवालाहरूले औंल्याएका छन् ।