
काठमाडौं : मैतीदेवीकी अर्चना शर्मा केही दिनयता घाँटी खसखस हुने, सास फेर्न गाह्रो हुने र टाउको दुख्ने समस्याबाट पीडित छिन् । भाइरल ज्वरोले उनको दैनिकीमा ठूलो असर पारेको छ ।
‘यो कुनै ठूलो रोग होइन जस्तो लाग्छ, तर खोकी र ज्वरोले निकै कमजोर बनाउँछ । काम गर्ने र पढ्ने जाँगर नै हराउँछ,’ उनले भनिन्, ‘धुलो र प्रदूषण बढ्दा घाँटी खसखस सुरु हुन्छ, त्यसपछि टाउको दुख्ने र ज्वरो आउने हुन्छ । शरीर नै गल्छ ।’ यस्तो समस्या निको हुन झन्डै एक हप्ता लाग्ने गरेको उनको पुरानो अनुभव छ ।
मैतीदेवीकै निशा श्रेष्ठ पनि मौसम परिवर्तनसँगै हुने भाइरल ज्वरोबाट पीडित छिन् । ज्वरो र टाउको दुखाइले सताएपछि चिकित्सकको सल्लाह नलिई सिटामोल सेवन गर्छिन् । अहिले त उनको झोलामा सिटामोल र तातोपानी नियमितजस्तै भइसकेको छ ।
‘मौसम परिवर्तनले मलाई त छिट्टै असर गरिहाल्छ । भाइरल ज्वरोले बारम्बार सताउँछ,’ उनी भन्छिन् । दैनिक कामकाजमा अवरोध सिर्जना भएर उनी पनि हैरान छिन् ।
यस्ता समस्या केवल केही व्यक्तिमा मात्र सीमित छैन । मौसम परिवर्तनसँगै देशका विभिन्न स्थानमा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ । सामान्यजस्तो देखिने ज्वरो, खोकी र टाउको दुखाइले धेरैको दैनिकी नै प्रभावित बनाइरहेको छ । घर, विद्यालय, कार्यालयदेखि उद्योग–कारखानासम्म यसको असर देखिन थालेको छ । स्वास्थ्य संस्थाहरूमा पनि भाइरल ज्वरोका बिरामीको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ । कतिपय बिरामीमा दोहोरो संक्रमण (भाइरस र ब्याक्टेरिया दुवै) समेत देखिन थालेको चिकित्सकहरू बताउँछन् ।
एन्टिबायोटिक नलिनू : डा. पुन
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भाइरल ज्वरो एक प्रकारको सरुवारोग हो, जुन सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।
उनका अनुसार संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा नजिक सम्पर्कमा रहँदा शरीरबाट निस्कने स–साना कणमार्फत भाइरस सर्ने गर्छ । स्वस्थ व्यक्तिको नाक वा मुखबाट भाइरस शरीरभित्र प्रवेश गरेर संक्रमण गराउँछ ।
उनले भने, ‘एक्कासि ज्वरो आउनु, खोकी लाग्नु, शरीर दुख्नु, हातखुट्टा गल्नु, जोर्नी दुख्नु, वाकवाकी लाग्नु, कमजोरी महसुस हुनु र आँखा रातो हुनु भाइरल ज्वरोका सामान्य लक्षण हुन् ।’
उनका अनुसार सामान्य भाइरल ज्वरो निको हुन बढीमा एक हप्ता लाग्ने गर्छ । यस्ता लक्षण देखिएपछि तत्काल चिकित्सकको सल्लाह लिनुपर्ने उनले जोड दिए । आफूखुसी औषधि सेवन गर्नु झनै जोखिमपूर्ण हुन सक्ने उनको चेतावनी छ ।
‘कतिपयले चिकित्सकको सल्लाहबिना ज्वरो घटाउने औषधि, पेनकिलर वा एन्टिबायोटिक प्रयोग गर्छन्, जुन गलत अभ्यास हो । सकेसम्म आराम गर्नुपर्छ, तातो झोलिलो खाना खानुपर्छ, र आवश्यक परे मात्र चिकित्सकको सल्लाहअनुसार औषधि लिनुपर्छ,’ उनले भने ।
उनका अनुसार एन्टिबायोटिक औषधिले भाइरल ज्वरो निको पार्दैन, किनकि यो ब्याक्टेरियालाई नष्ट गर्न बनाइएको हो । अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गर्दा कलेजो र मिर्गौलामा असर पर्न सक्छ ।
‘रोगप्रतिरोधात्मक क्षमता बढाऔं’
जनस्वास्थ्यविद् डा. रवीन्द्र शर्मा भाइरल ज्वरोबाट बच्न शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउनुपर्ने सुझाउँछन् । ‘जसको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यस्ता व्यक्तिलाई भाइरल ज्वरो छिट्टै लाग्छ,’ उनले भने ।
उनले दैनिक जीवनमा केही सावधानी अपनाउन सुझाव दिएका छन् । प्रशस्त मनतातो पानी पिउने, सन्तुलित र पोषणयुक्त आहार सेवन गर्ने, हरियो सागसब्जी, फलफूल र झोलिलो खाना खाने, ज्वरो आएपछि सिटामोल खाँदा पनि ज्वरो नघटेमा पानीपट्टी गर्न सकिने उनले बताए । तर पानीपट्टी गर्दा टाउकोमा मात्र नभई काखी, हात र खुट्टामा पनि राख्नुपर्छ ।
‘ज्वरो हुँदा शरीर कमजोर हुन्छ र पाचन प्रणाली पनि कमजोर हुन्छ, त्यसैले जाउलो, खिचडी र सुपजस्ता झोलिलो तथा सजिलै पच्ने खाना खानुपर्छ,’ उनले भने ।
घरमै पर्याप्त आराम गर्दा शरीरमा ऊर्जा बढ्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले संक्रमण छिटो निको हुने र अरूमा सर्ने सम्भावना पनि कम हुने उनले बताए ।
विशेषगरी पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूले बढी सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ ।
‘भीडभाडबाट टाढा रहने, मास्क प्रयोग गर्ने, नियमित व्यायाम र योग गर्ने बानी बसाल्नुपर्छ,’ उनले जोड दिए ।