२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

जेनजी आन्दोलनपछि पार्टीबाट राजीनामा दिएका वडाअध्यक्षलाई मेयरले गरे बर्खास्त

Nada
प्रवेश बिष्ट
२०८२ मंसिर ९ गते १०:२०
Shares
जेनजी आन्दोलनपछि पार्टीबाट राजीनामा दिएका वडाअध्यक्षलाई मेयरले गरे बर्खास्त
कालुमान लामा र केशव अधिकारी

विराटनगर : उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारीलाई मेयर कालुमान लामाले बर्खास्त गरिदिएका छन् । मेयर लामाले अधिकारीलाई मंसिर ५ गते पदमुक्त गरेको पत्र पठाएका थिए । 

ncell

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उनीहरू दुवै जना नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । तर, अध्यक्ष अधिकारीले जेनजी आन्दोलनपछि भदौ २५ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए । 

त्यसबेला अधिकारीले आफू देश र जनताको पक्षमा रहेको भन्दै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । उनी एमाले उदयपुरको मनोनीत जिल्ला सदस्य हुन् । 

पछिल्लो समय उनले एमालेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । जेनजी आन्दोलनको क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न आरोपमा उनलाई पार्टीले समेत कारबाही गरेको थियो । 

मेयर लामाले वडा कार्यालयमा आएर काम नगरेपछि जनतालाई सेवा दिनका लागि कार्यवाहक दिएको बताएका छन् । लामाले वडा सदस्य बलराम मगरलाई कार्यवाहकअध्यक्षको जिम्मेवारीसमेत प्रदान गरेका छन् । लामाले भने, ‘कार्यवाहक दिएपछि उहाँ फेरि अध्यक्ष भन्दै काममा फर्किनु भएको सुनेको छु ।’

दल दर्तासम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थाअनुसार पद मुक्त गरेर निर्वाचन आयोगलाई जानकारी दिएको मेयर लामाको दाबी छ ।अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय जिल्ला कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको लामाको भनाइ छ ।

यता अधिकारीले भने आफू नभएको मौका छोपी आफू बस्ने कुर्सी र नेमप्लेट मेयरले नगर प्रहरी खटाएर लगेको आरोप लगाएका छन् । उनले भने, ‘मेरो कुर्सी र नेम प्लेट समेत मेयर सा’बले नगर प्रहरी लगाएर उठाएका छन् ।’

आफू बस्ने कुर्सीसमेत उठाएर लगेपछि अधिकारीले प्रहरीमा ‘चोरी’को उजुरी दिएका छन् । स्रोतका अनुसार उनीहरुबीच लामो समयदेखि आन्तरिक टकराब चलिरहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर