
विराटनगर : नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा विराटनगरमा जेनजी समूहका युवाले रातो मसी प्रहार गरेका छन् । विराटनगर विमानस्थलबाट सुनसरीतर्फ गइरहेका बस्नेत एयरपोर्ट मोड नजिक पुग्दा दुई युवाले सडक छेउबाट गाडीमा मसी फ्याँकेका हुन् ।
मसी फ्याँकिएको घटनापछि सुरक्षाकर्मीले तत्काल संलग्न दुई युवालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मसी प्रहारको प्रयास भए पनि गाडीमा स्पष्ट दाग नदेखिएको दाबी प्रहरीले गरेको छ ।
पक्राउ परेका युवाहरू विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउको क्रममा पनि उनीहरूले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियोहरू सार्वजनिक भएका छन् । पक्राउ परेका गौतमले बस्नेत र एमाले नेतृत्वविरुद्ध सांकेतिक विरोधस्वरूप मसी प्रहार गरिएको प्रहरीसमक्ष बयान दिएका छन् ।