२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री

Nada
२०८२ मंसिर ५ गते २१:४८
Shares
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरिहार्य रहेको बताएका छन् । 

ncell

काठमाडौंमा आयोजित ‘एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचार’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले एआईको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । 

सञ्चारमन्त्री खरेलले व्यापक डिजिटल साक्षरता मार्फत डिजिटल विभाजनलाई कम गर्न एआईबाट अधिकतम लाभ लिनसक्नुपर्नेमा जोड दिए । 

मन्त्री खरेलले सरकारले ‘एआई नीति २०८२’ को निर्देशन अनुसार राष्ट्रिय एआई काउन्सिल र राष्ट्रिय एआई सेन्टर स्थापना गरिसकेको जानकारी दिए । 

उनले एआईको प्रयोग सबैका लागि समावेशी, नैतिक, सुरक्षित र लाभदायक हुनुपर्छ भन्ने सरकारको स्पष्ट दृष्टिकोण रहेको बताए । ‘हाम्रो देशको एआई सम्बन्धी दृष्टि स्पष्ट र सिद्धान्तमा आधारित छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘हामी एआई प्रविधिको प्रयोगलाई समावेशी, नैतिक, सुरक्षित र सबैका लागि फाइदाजनक बनाउने लक्ष्यमा प्रतिबद्ध छौँ ।’

मन्त्री खरेलले सरकारको रणनीति डिजिटल साक्षरता विस्तार गरी डिजिटल विभाजन अन्त्य गर्ने, महिला, युवा र सीमान्तकृत समुदायलाई सशक्तीकरण गर्नेमा केन्द्रित रहेको बताए । उनले नागरिकको डेटा गोपनीयता र अधिकारको रक्षा गर्दै जिम्मेवार आविष्कारलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । 

उनले अगाडि थपे, ‘हामी कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रमा एआईको प्रयोगलाई प्राथमिकता दिइरहेका छौँ । साथै, एआईबाट सिर्जित आर्थिक अवसर सबैले उपयोग गर्न सकून् भनेर स्टार्टअपलाई प्रोत्साहन गर्ने अनुकूल वातावरण तयार गर्दैछौँ ।’

उनले यो महत्वाकांक्षी लक्ष्य सरकार एक्लैले पूरा गर्न नसक्ने भन्दै निजी क्षेत्र, प्राज्ञिक वर्ग र अन्तर्राष्ट्रिय साझेदारको सहकार्यमा जोड दिए । 

नेपाल र भारतबीचको गहिरो मित्रताले यस सहकार्यका लागि बलियो आधार प्रदान गरेको उल्लेख गर्दै मन्त्री खरेलले अनुसन्धान, सीप विकास र ज्ञान आदानप्रदानमा सहकार्यलाई थप गहिरो बनाउनुपर्ने बताए । 

ताजा खबर

सम्बन्धित खबर