२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

‎गेरुवाको सरस्वती आधारभूत विद्यालय तीन तारे विद्यालय घोषणा

Nada
सन्तोष पौडेल
२०८२ मंसिर ५ गते २१:३९
Shares
‎गेरुवाको सरस्वती आधारभूत विद्यालय तीन तारे विद्यालय घोषणा

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका–५ विन्द्रास्थित सरस्वती आधारभूत विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ ।

ncell

२०४६ सालमा स्थापना भएको विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० सूचक पूरा गरेपछि गाउँपालिकाले प्रमाणीकरण गर्दै यसलाई तीन तारे विद्यालय घोषणा गरेको हो ।

विद्यालयको ३६औं वार्षिक उत्सवको अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष जमान सिंह केसी र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विद्यालयका प्रधानाध्यापक योगेन्द्र कुमार चौधरीलाई प्रमाणीकरण प्रमाणपत्र प्रदान गरेका थिए ।

सभामा बोल्दै मन्त्री तिमिल्सिनाले तीन तारे विद्यालय घोषणा भएकाले अब विद्यालयले स्वच्छ, सुरक्षित र विद्यार्थीमैत्री वातावरण निर्माणमा गरेको मेहनतको औपचारिक मान्यता प्राप्त भएको बताए । उनले घोषणा कार्यक्रमको दिगोपन सुनिश्चित गर्न शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहदेखि प्रदेश सरकारसम्म सबैले आफ्ना जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिए ।

गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले पालिकाका सबै विद्यालयलाई क्रमशः तीन तारे विद्यालय घोषणा गर्ने लक्ष्य रहेको उल्लेख गर्दै भने, ‘तीन तारे विद्यालय अभियानमार्फत गुणस्तरीय शिक्षा, सुरक्षित विद्यालय र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने दृढसंकल्प गरेका छौं ।’

गाउँपालिकाले विद्यालयस्तरमै खानेपानी, सरसफाइ, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, विपद् जोखिम व्यवस्थापनलगायत १० सूचक समेटिएको कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

वास गेन्स परियोजनाको सहयोगमा आयोजित कार्यक्रममा नेपाल सरकारले ल्याएको तीन तारे पद्धति अनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्न अभियान अघि बढाइएको बताउँदै वाटर एड नेपालका परियोजना प्रबन्धक उमाशंकर यादवले निकट भविष्यमै पालिकाका सम्पूर्ण विद्यालय तीन तारे घोषणा हुने विश्वास व्यक्त गरे ।

यस अभियानमा युके एड, वाटर एड नेपाल, नेपाल प्रजनन् स्वास्थ्य स्याहार केन्द्र र राष्ट्रिय अपांग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थाले सहयोग गरिरहेको छ । हाल पालिकामा ४ माध्यमिक र २ आधारभूत विद्यालयमा वास गेन्स परियोजना सञ्चालनमा छ ।

सो अवसरमा विद्यालयलाई तीन तारे बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. ५ का वडाध्यक्ष धर्म प्रकाश थारु र वेस संस्थाका कार्यवाहक अध्यक्ष शालिकराम थारु लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

ताजा खबर

सम्बन्धित खबर