२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौंको क्षति

Nada
२०८२ असोज १९ गते १५:४३
Shares
बाढीबाट ऊर्जा र सिँचाइका संरचनामा करोडौंको क्षति

काठमाडौं : यही असोज १७ र १८ गतेको अविरल वर्षासँगै देशका विभिन्न नदीनालाको बाढीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका करोडौँका संरचनामा क्षति भएको प्रारम्भिक अनुमान छ ।

ncell

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार मुलुकका विभिन्न भागमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा रु १० करोड बारबरको क्षति भएको छ । कन्काइले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लोतटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरी होक्लबारी गाउँका करिब ११४ घर डुबाएको छ । त्यहाँको ५०० हेक्टर धान खेतमा क्षति साथै झापा गाउँपालिका– २ को कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा रु ७५ लाखको क्षति भएको छ ।

यसैगरी, मेची नदीले ठाउँठाउँमा रहेको स्परमा करिब रु ५० लाख, विराटनगरस्थित केशलिया नदीमा डुबान भई ७५ घर स्थानान्तरण, कमला नदीको पूर्वी किनार सिरहा १७ पटेरुवाको तटबन्धमा करिब रु २५ लाख बराबरको क्षति भएको छ ।

रौतहटमा लालबकैया नदीको दायाँ किनारमा करिब ६० मिटर तटबन्ध बगाई  करिब १०० हेक्टर धान खेत र बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाई २०० हेक्टर धान तथा घरगोठ डुबान हुँदा रु ६० लाख बराबरको क्षति भएको छ । महोत्तरीमा रातो नदीले  तटबन्ध बगाउँदा रु आठ करोड बराबरको क्षति भएको छ ।

सिँचाइ प्रणालीको बाँध क्षेत्रमा नदीमा आएको बाढीलाई सुरक्षित तवरले नदीमा फर्काउन हेड रेगुलेटर, मूल नहर र शाखा नहरका गेट समयमा नै खोलिएकाले सिँचाइ प्रणालीमा धेरै क्षति नभएको मन्त्री घिसिङले बताए ।  सुनकोशीको बाढीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गतको निर्माणाधीन बाँधस्थल डुबेको छ ।

सम्बन्धित खबर