काठमाडौंः पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आएको बाढीका कारण कम्तीमा ९७ जनाको मृत्यु हुनुका साथै ४.४ मिलियन भन्दा बढी मानिसहरु प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।
पिडिएमएका अनुसार रावी, सतलज र चेनाब नदीमा आएको बाढीका कारण प्रदेश भरिका चार हजार ५०० भन्दा बढी गाउँहरूलाई क्षति पुगेको छ ।
उद्धार तथा राहतसहित अहिलेसम्म करिब २.४५ मिलियन मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
प्रभावित जिल्लाहरूमा कुल ३९६ राहत शिविरहरू स्थापना गरिएको छ, भने लगभग १.९ मिलियन गाईवस्तुहरूलाई सुरक्षित स्थानमा सारीएको पिडिएमएले जनाएको छ ।
आधिकारिक तथ्याङ्कअनुसार जुन २६ देखि राष्ट्रव्यापी, मौसमी वर्षा र बाढीले कम्तीमा ९५६ जनाको ज्यान लिनुका साथै एक हजार ६० भन्दा बढी घाइते भएका छन् । बाढीले आठ हजार ४०० भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्, भने देशभरि छ हजार ५०० भन्दा बढी गाईवस्तुहरू नष्ट भएका छन् ।
विस्थापित समुदायहरूलाई आश्रय, खाना र चिकित्सा सहायता प्रदान गर्न तथा थप क्षति रोक्न राहत प्रयासहरू जारी रहेको जनाइएको छ ।