काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, भौतिक पूर्वाधार विभागीय समितिको आयोजनामा ‘सार्वजनिक खरिद’ विषयक विचार गोष्ठी सम्पन्न धएको छ ।
सार्वजनिक खरिद प्रणालीलाई अझ पारदर्शी, सक्षम र प्रभावकारी बनाउन आवश्यक रणनीति तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गर्न आयोजित विचार, गोष्ठी काठमाडौंस्थित सडक विभागको सभाहलमा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात विभागीय समितिका अध्यक्ष धनदेव जोशीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मन्त्रालयका सचिव केशव कुमार शर्मा प्रमुख आतिथ्यता रहेको थियो ।
सडक विभागका महानिर्देशक डा.विजय जैसी विशेष अतिथिका रुपमा सहभागी थिए । कार्यक्रममा सहभागी वक्ताहरूले सरकारी खरिद प्रक्रियामा देखिएका चुनौती, सुधारका उपाय र पारदर्शिताबारे आ(आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष दिनेश लम्सालले ‘सार्वजनिक खरिद, वर्तमान अवस्था र सुधारका सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमा मन्त्रालयका सहसचिव चुडाराज ढकाल र कृष्णराज पन्तले टिप्पणी गर्दै खरिद प्रक्रियालाई व्यावहारिक, सरल र उत्तरदायी बनाउन संस्थागत सुधार आवश्यक रहेको सुझाव दिए ।
गोष्ठीमा उपस्थित सरोकारवालाहरूले यस्ता छलफल कार्यक्रमले सरकारी निकायभित्र दक्षता, पारदर्शिता र जवाफदेहिताको संस्कृति विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम संचालन एकीकृत कर्मचारी संगठन भौतिक पूर्वाधार मन्त्रालय विभागिय कार्यसमितिका सचिव ज्ञानमान श्रेष्ठले संचालन गरेका थिए ।