२०८२ भदौ १७ गते मङ्गलवार / Sep 02 , 2025 , Tuesday
२०८२ भदौ १७ गते मङ्गलवार
Ads

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

shivam cement
मध्यान्ह
२०८२ भदौ १७ गते ०८:४७
बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

बेनी : जिल्ला सदरमुकाम बेनीमा शनिवार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगंगा गाउँपालिका-२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका-६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिवार रातिदेखि सम्पर्कविहीन भएका हुन् । 

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

“दुवै जनाले बेनीको बैंक रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किए पनि आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ बन्द (स्विचअफ) भएपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले भने ।

बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृश्यका आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटर बाटोतर्फ मोडिएको देखिएको उनले बताए । उक्त मोटरसाइकल सो समयमा काली पुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

सूचना अधिकारी पौडेलका अनुसार रिजालद्वयको अन्य माध्यमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी सुरु गरिएको छ ।

मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको बताउँदै उनले रातिको समय भएकाले प्रत्यक्षदर्शीसमेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकिन गर्न कठिनाइ भएको उल्लेख गरे । 

सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उनीहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको नसकेको पौडेलले जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise