काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द्व सुरु हुने बताएका हुन् ।
संविधान निर्माणका लागि २० वर्ष लागेको उनले स्मरण समेत गरे । यो संविधान असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसक्ने उनको दाबी छ । त्यसको लक्षण पनि देखिन थालेको उनले बताए ।
संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ छ । समय र समाजको विकासको गतिअनुसार संविधानलाई पनि उन्नत, परिवर्तन र परिमार्जन गर्नुपर्ने उनले बताए ।
समयसापेक्ष संविधान संशोधनको लागी वर्तमान सरकार गठनको बेला कांग्रेस र एमालेले सहमति गरेको पनि उनले उल्लेख गरे । तर सरकार बनेको एक वर्षमा पनि संविधान संशोधनको कार्य प्रारम्भ गर्न नसेकेको उनले स्वीकार गरे ।
संविधानको समयसापेक्ष संशोधन र सुरक्षा आवश्यक रहेको उनको भनाइ छ । अहिलेको संविधानमा कतिपयले प्रश्न उठाउने गरेको उल्लेख गर्दै उनले त्यो पनि जायज रहेको बताए । यो संविधानमा कतिपय कुराहरु समेट्न खोज्दाखोज्दै पनि नसकिएको उनको भनाइ छ ।