सल्यान : सल्यानमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नेको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर भएको छ । तर वितरण दर भने अझै न्यून रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ७४४ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेका थिए । तर सोही अवधिमा जम्मा ३ हजार ९६ जनालाई मात्र कार्ड वितरण गरिएको छ ।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ६९७ जनाले विवरण दर्ता गराउँदा १ हजार ७७८ जनालाई मात्र परिचयपत्र वितरण गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीका अनुसार पछिल्लो समय सरकारी सेवा तथा कामकाजमा राष्ट्रिय परिचयपत्र अनिवार्य बन्दै गएको कारण दर्ता दर बढेको हो । 'अब अधिकांश सेवा–सुविधाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने भएकाले नागरिकहरू उत्सुकतापूर्वक परिचयपत्र बनाउँदै छन्,' सुवेदीले भने ।
राष्ट्रिय परिचयपत्र एक विद्युतीय चिपयुक्त स्मार्ट कार्ड हो, जसमा नागरिकको व्यक्तिगत तथा जैविक विवरण समावेश हुन्छ । नेपालमा प्रदान गरिने अधिकांश सेवा सुविधा लिनका लागि अब यो कार्ड आवश्यक पर्ने भएकाले यसको प्रयोग बढ्दो छ ।
नागरिकता, विवाह दर्ता, मतदाता परिचयपत्र, सवारी चालक अनुमति पत्र, प्यान कार्ड जस्ता कागजातहरूको एकीकृत स्वरूपमा प्रयोग हुने यो कार्ड पहिचानको प्रमाणको रूपमा समेत मान्यता प्राप्त छ ।
राष्ट्रिय परिचयपत्र बनाउँदा नेपाली नागरिकताको सक्कल र प्रतिलिपि, बाहिरी जिल्लाबाट नागरिकता लिएको भए बसाइँसराइ प्रमाणपत्र, जन्ममिति नखुलेको भए खुल्ने प्रमाण, र विवाह गरेर माइतीबाट नागरिकता लिएकी महिलाका लागि विवाह दर्ता प्रमाणपत्र आवश्यक पर्छ ।