काठमाडौँ : पाल्पाको पूर्वखोला गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका-१ गाप्टुङ घर भई बुटवल उपमहानगर-११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुंगाना र अर्का नाम/थर नखुलेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
साँझ आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ-रामपुर कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का एक जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा चालक बुटवल उपमहानगर-११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन ।