बाँके : कोहलपुर नगरपालिका वडा नं १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
वर्षौँदेखि बसोबास गर्दै आएका कोहलपुर १ का ८६ अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
“हामी धमाधम काम गरेर अव्यवस्थित बसोवासी तथा सुकुम्वासी जनतालाई जग्गाको धनी बनाउन लागिपरेका छौँ”, अध्यक्ष खनालले भने, “हामीले पाएको जिम्मेवारीअनुसार जनताको आशा र अपेक्षा पूरा गर्न लागिपरेका छौँ ।”
कोहलपुर-१ का थप सात सय ७४ अव्यवस्थित बसोवासीलाई असार ५ गतेबाट लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको आयोगले जनाएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले भूमिसम्बन्धी समस्या समाधानमा आवश्यक सहयोग र समन्वयका लागि नगरपालिका सधैँ तत्पर रहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले आयोगको काममा स्थानीय तह, जनप्रतिनिधि र राजनीतिक दलहरूलेसमेत जिम्मेवार पूर्ण तरिकाले सघाउनुपर्नेमा जोड दिए ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिले हालसम्म बाँकेको कोहलपुर नगरपालिका–१ मा एक सय १७ भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिसकेको छ ।
बाँकेको कोहलपुर, बैजनाथ, खजुरा, जानकी, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत तवरले काम भइरहेको अध्यक्ष खनालले बताए । उनले सानातिना विवादमा नअल्झिएर फिल्डमा खटिएका प्राविधिकलाई आवश्यक सहयोग र समन्वय गरिदिन आग्रह गरे ।