काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा आयोजित नियमित ‘मातृभाषा साहित्यको २३औं श्रृंखला’ शनिबार प्रतिष्ठानको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमको समुद्घाटन प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर वाचन गरी गरेका थिए ।
उनले संघीय, प्रादेशिक र स्थानीय प्रज्ञा–प्रतिष्ठानबीच समन्वय र कार्यविभाजन स्पष्ट नहुँदा एउटै कार्यको पुनरावृत्ति भइरहेको उल्लेख गरे । साथै, लोपोन्मुख भाषाको संरक्षण र जर्गेनामा स्थानीय सरकारको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य÷काव्य) विभाग प्रमुख बाबा बस्नेतले मातृभाषाको विकासमा यस्ता श्रृंखलाहरूले महत्त्वपूर्ण योगदान पु¥याउने बताए । उनका अनुसार, मातृभाषामा सृजना र विमर्शको यो थलोले भाषा संरक्षणका पहललाई अझ सशक्त बनाएको छ ।
कार्यक्रमका सभाध्यक्ष तथा साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले आदिवासी जनजातिका भाषा, साहित्य र संस्कृतिको उजागरमा यो श्रृंखला विशेष योगदानकारी भएको बताउँदै आगामी श्रृंखलादेखि दुईवटा मातृभाषामा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
कार्यक्रममा ‘सुरेल भाषाको साहित्य’ विषयक प्रस्तुति डम्बर अर्पणले दिएका थिए । प्रस्तुतिपछि सहभागीहरू बयान सिंह, डा.सोम धिताल, समिर मुखिया र टेकबहादुर गुरुङले जिज्ञासा राखेर बहसलाई जीवन्त बनाएका थिए ।
कविता वाचन सत्रमा अतिथि कवि जयन्ती सत्याल स्पन्दनले खसभाषामा, जगबहादुर बुढाले काइके मगर भाषामा र बयानसिं राईले चाम्लिङ भाषामा कविता सुनाएका थिए । कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा संरक्षण तथा प्रवद्र्धनका लागि सञ्चालन गर्दै आएको यो श्रृंखला विभिन्न भाषिक समुदायका लागि साझा मञ्चको रूपमा स्थापित हुँदै आएको छ ।