२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

पोखराका दुई किसानले बेचे १५ लाख बढीको तरबुजा

मध्यान्ह
२०८२ जेठ ३१ गते १६:३८
पोखराका दुई किसानले बेचे १५ लाख बढीको तरबुजा

गण्डकी : पोखरा महानगरपालिका-३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले  रु १५ लाखभन्दा बढीको तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । 

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकामा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको  हानि भएको किसान आचार्यले जानकारी दिए । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् । 

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए बापत महानगरपालिकाले उनीहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा  गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए । 

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए ।

ADV

सम्बन्धित खबर