काभ्रेपलाञ्चोक : प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँनयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।
धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभइ ‘इमान्दार, मेहनति र शालिन व्यक्तिको देश’भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरे ।
नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भएपनि स्वाधिनताका साथ बसेको स्पष्ट गरे । ‘दुनियामा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हाम्रो सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन,बरु तोपसँग पूर्खाले चक्कुको सहारामा हराएर देशको स्वाधिनता बचाएका हुन् ।’
प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामीले सोहीअनुसार कर्म गर्नुपर्ने बताए । ‘पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो,’उनले भने ।
प्रधानमन्त्री ओलीले यस वर्षको एसईई नतिजामा सुधार आउने पनि बताए ।
‘गत वर्षको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था हो,’ उनले भने, ‘उक्त नतिजामा सरकारले सुधारको काम गरिरहेको छ, यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको छ ।’ एसइईमा सुधारसँगै सम्रग शिक्षा क्षेत्रको विकासको लागि सरकार सचेत रहेको उनको भनाइ थियो ।
शिक्षा र स्वास्थ्य क्षेत्रबाट देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले भने, ‘शिक्षित र स्वस्थ्य नागरिक नै देशको उपलब्धि हो, यस क्षेत्रका विकासका लागि सरकार सचेत छ ।’
१ हजारबढी दीक्षित
विश्वद्यिालयको दीक्षान्त समारोहमा विभिन्न तह एवं विधामा १ हजार १२९ विद्यार्थी दीक्षित भएका छन् ।
समारोह अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बे्रन्डन जी कारको प्रमुख आतिथ्यमा भएको थियो ।
समारोहमा स्कुल अफ आर्टसका १६३, स्कुल अफ एजुकेसनका १०२, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका ११०, स्कुल अफ मेडिकल साइन्सेजका ६६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित भएका हुन् ।
यस्तै विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेन्स र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसीएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तर तहका ५१३, पिजीडी तहका चार र स्नातक तहका ५१९ जना दीक्षित भए ।
दीक्षित हुनेमध्ये ५०.९३ प्रतिशत छात्र र ४९.०७ प्रतिशत छात्रा छन् । दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्स गरी चार देशका ११८ जना अर्थात् १०.४५ प्रतिशत रहेको केयुले जनाएको छ ।
तिसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी केयुबाट ४७ हजार ८ सय ३१ जना उत्तीर्ण भएका छन् । जसमध्ये ५ हजार ६६० जना अर्थात् ११ दशमलव ८३ प्रतिशत विद्यार्थी विदेशी छन् ।