२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

विद्यार्थीलाई कपाल काट्ने तालिम

मध्यान्ह
२०८२ जेठ २९ गते १८:१०
विद्यार्थीलाई कपाल काट्ने तालिम

म्याग्दी : म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम दिएको छ ।

बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम मार्फत विद्यार्थीलाई पढाइसँगै सीप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने २५ विद्यार्थीलाई उनीहरूको रुचि अनुसार १५ दिने कपाल काट्ने तालिम दिएको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताए ।

‘विद्यार्थीहरूको माग र रुचिअनुसार कपाल काट्ने तालिम छनोट गरिएको हो,’ उनले भने, ‘जेठ २६ गतेदेखि सुरु भएको तालिम असार १० गतेसम्म सञ्चालन गर्छौ ।’ विद्यार्थीलाई बेनीका अभिशेक श्रेष्ठले कपाल काट्ने तालिम दिंदै छन् ।

दिउँसो ४ बजे विद्यालयको नियमित कक्षाको पठनपाठन सकिएपछि २ घण्टाका दरले तालिम सञ्चालन गरिएको छ । तालिममा सहभागी कक्षा ११ का छात्र सुयोग रेग्मीले घरपरिवारका सदस्यको कपाल काटे पनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सीपले सहज हुने बताए ।

प्रधानाध्यापक श्रेष्ठका अनुसार बेनीमा सार्वजनिक बिदाका दिनमा सैलुनमा कपाल काट्न घण्टौंसम्म पालो पर्खनुपर्छ । विद्यार्थीले सिकेको सीपको सदुपयोग गरेर सामुहिक व्यवसाय सञ्चालन गर्न चाहेमा विद्यालयले सटर उपलब्ध गराउने उनले बताए ।

माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाएर विद्यार्थी र शिक्षालाई श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले बताए ।

बेनी नगरपालिकाले १६ विद्यालयलाई चालु आर्थिक वर्षमा ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रमका लागि एक–एक लाखका दरले १६ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको सामुदायिक विद्यालयका करिब ५ सय विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा गरिएको छ ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर