काठमाडौंः भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ । उक्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।
लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।
भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए । एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखे ।
भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, ‘जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।’
एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ । विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ । उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत र समन्वित कारबाही गर्न’ निर्देशन दिए ।
‘उद्धार टोली परिचालन गरिएको छ र घटनास्थलमा चिकित्सा सहायता र राहत सहयोग पुर्याउन सबै प्रयास भइरहेको छ’, उनले भने, ‘मेरो विचार र प्रार्थना जहाजमा रहेका सबै र उनीहरूका परिवारसँग छ ।’
एयर इन्डियाले दुर्घटनाको पुष्टि गरेको छ ।
‘अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु’, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने, ‘हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ ।’
एउटा आपत्कालीन केन्द्र सक्रिय गरिएको र जानकारी खोज्ने परिवारहरूका लागि सहायता टोली गठन गरिएको उनले बताए । भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ । त्यसबेला दुई जेट नयाँदिल्लीमाथि हावामा ठोक्किएर करिब तीन सय ५० जनाको ज्यान गएको थियो ।
सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो । उक्त दुर्घटनामा एक सय ६६ यात्रु र चालक दलका सदस्यमध्ये एक सय ५८ जनाको मृत्यु भएको थियो ।
दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा तीन सय २९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन् । उग्रवादी सिखहरूले विमानले बोकेको सामानमा बम राखेको एउटा भारतीय आयोगले निर्धारण गरेको थियो ।