२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

मावि र निमाविमा २३ हजार शिक्षक अपुग

दिवाकर अधिकारी
२०८२ जेठ २९ गते ०६:३५
मावि र निमाविमा २३ हजार शिक्षक अपुग

काठमाडौं : देशभरका माध्यमिक तह (मावि) र निम्न माध्यमिक तह (निमावि) तहमा २३ हजार शिक्षक अपुग रहेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको ‘शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल’ले यस्तो औंल्याएको हो । 

मन्त्रालयले पूर्वसचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा २०८१ मंसिर तेस्रो साता कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको अध्ययनअनुसार देशभरका सामुदायिक विद्यालयको माविमा १० हजार र निमाविमा १३ हजारभन्दा बढी शिक्षक दरबन्दी अपुग छ । 

कार्यदललाई विद्यार्थी र शिक्षकको अनुपातअनुसार शिक्षक दरबन्दीको अवस्था हेर्न र विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउन भनिएको थियो । त्यसआधारमा भएको अध्ययनले देशभरका मावि र निमावि तहमा २३ हजार बढी शिक्षक अपुग रहेको देखाएको हो । 

शिक्षा नियमावलीअनुसार विद्यार्थी शिक्षकको अनुपात भूगोलअनुसार फरक–फरक छ । हिमालमा ४० जना विद्यार्थी बराबर एक शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र तराई तथा काठमाडौं उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान छ । तर, नियमावलीअनुसार अनुपात नमिलेको अध्ययनले देखाएको छ । 

माध्यमिक तहमा विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षकको अभाव छ । कार्यदलका अनुसार विज्ञान, गणित र अंग्रेजी विषयमा करारमा शिक्षक नियुक्त गर्न विद्यालयले विज्ञापन खोल्दा समेत आवेदन कम पर्ने समस्या छ । 

कार्यदलको अध्ययनअनुसार विद्यार्थी धेरै भएका विद्यालयमा अनुपातअनुसार आवश्यक शिक्षक छैनन् । कतिपय विद्यार्थी कम भएका ठाउँमा अनुपात भन्दा धेरै शिक्षक छन् । अर्थात, विद्यार्थी र शिक्षकको अनुपात र सन्तुलन दुवै मिलेको छैन ।

शिक्षा मन्त्रालयकाअनुसार देशभर २७ हजार सामुदायिक विद्यालय छन् । जसमा १ लाख ९ हजार ५ सय शिक्षक दरबन्दी छ । 

कार्यदलको अध्ययनअनुसार प्राथमिक तह (प्रावि)मा भने विद्यार्थी अनुपातमा शिक्षकको बढी छ । यस्तो अवस्थामा समग्रतामै विद्यार्थी र शिक्षकको अनुपात मिलाउन कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सुझाएको छ । 

विद्यार्थी र शिक्षकको अनुपातको विषयमा यसअघि पनि अध्ययन भएका छन् । २०७६ सालमा अध्ययन भएको थियो । तर, त्यसबेलाको अध्ययनको निष्कर्ष अनुसार वर्तमानमा काम गर्न नसकिने भनेर शिक्षा मन्त्रालयले २०८१ मंसिर तेस्रो साता अर्को कार्यदल गठन गरेको हो । 

मन्त्रालयका अनसार २०७६ सालको परिस्थिति र ५ वर्षपछिको वर्तमान परिस्थितिमा फेरबदल आएको हुनाले फेरि अध्ययन गर्न कार्यदल गठन गरिएको हो । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी पनि असमान भएको गुनासो आएकाले पनि कार्यदल गठन गरेर अगाडि बढेको शिक्षा मन्त्रालयले जनाएको छ । 

शिक्षा मन्त्रालयकाअनुसार यसपटकको कार्यदलले शिक्षकको सन्दर्भमा स्थानीय तहबाट भइरहेका कतिपय कामहरू समेत हेरेको छ । तर, यो विषयमा मन्त्रालयले के कस्ता विषय अध्ययनबाट आएको छ भन्ने खुलाएको छैन । 

सरोकारवालाहरू शिक्षक कम हुने समस्या गम्भीर समस्या हो । शिक्षक नहुँदा पठन/पाठन ठप्प हुन्छ । शैक्षिक गुणस्तर खस्किन्छ । शिक्षक कम हुँदा भएकै शिक्षकले धेरै विद्यार्थी पढाउनुपर्ने हुन्छ । यस्तो अवस्थाले शैक्षिक गुणस्तर स्वतः खस्काउँछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर