काठमाडौं : काठमाडौं महानगरपालिकामा भएको ढल निर्माण तथा भवन निर्माणका ठेक्कासम्बन्धी अनियमिततामा संलग्न भएको अभियोगमा महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको ठहर गर्दै उनीहरूमाथि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक हुन् ।
मुद्दा दायर हुनेहरूमा परियारसहित बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।
सामाखुसी करिडोर अन्तर्गत बसुन्धरा–म्हेपी खण्डमा ढल निर्माणका लागि आह्वान गरिएको ठेक्कामा देखिएको अनियमिततामाथि अनुसन्धान गर्दा ती अधिकारीहरूले नियतवश कानुनको उल्लंघन गर्दै सस्तो प्रस्ताव अस्वीकृत गरी महँगो प्रस्ताव स्वीकार गरेको प्रमाणित भएको अख्तियारको भनाइ छ । यही प्रक्रियाबाट राज्यलाई ठूलो आर्थिक हानि भएको र संलग्न व्यक्तिहरूले आफ्नो अधिकारको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आयोगले उल्लेख गरेको छ ।
२०७७/७८ मा सामाखुसी करिडोरअन्तर्गत ढल निर्माणको ठेक्काका लागि बोलपत्र आह्वान गरिएको थियो । उक्त ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनूर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
तर, कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई उक्त ठेक्का नदिइ कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो ।