२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा धमाधम बिदा

मध्यान्ह
२०८२ जेठ २८ गते १५:५६
गर्मी अत्यधिक बढेपछि विद्यालयहरूमा धमाधम बिदा

काठमाडौं :अत्यधिक गर्मीका कारण विभिन्न स्थानीय तहले विद्यालयहरूमा धमाधम बिदा दिएका छन् ।

पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै स्थाीय तहहरूले पछि बिदा समायोजन गर्ने गरी बिदा दिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू २ दिन बन्द रहने जनाएको छ ।

मंगलबार उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख धीरन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते गरी २ दिन वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगरभित्रका विद्यालयहरूमा पठनपाठन बन्द हुने जानकारी दिएका छन् ।

यस्तै सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू पनि ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

गर्मी बढ्दा विद्यालयमा पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बुधबारदेखि शुक्रबारसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेल सूचना जारी गर्दै नगरका मन्टेश्वरी, पूर्वप्राथमिकसमेत सामुदायिक र संस्थागत विद्यालयहरू आगामी शुक्रबारसम्मका बन्द गरिने बताए ।

हाल दिइएको गर्मी बिदा आगामी बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्न सबै विद्यालयहरूमा जानकारी गराइएको छ । कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू छन् । 

उता जिल्लामा अत्यधिक गर्मी हुँदा दूधौली, मरिण, हरिहरपुरगढी र सुनकोशीगढतिर क्षेत्रका विद्यालयहरूमा समेत पठनपाठनमा समस्या हुने गरेको छ । जिल्लामा ३७ देखि ३८ डिग्रीसम्म तापक्रम हुने गरेको छ । गर्मीका कारण मरिण गाउँपालिकाका कतिपय विद्यालयका बालबालिकाहरू बेहोस भएर ढल्ने समेत गरेको अभिभावकले जनाएका छन् ।

यसैगरी, नवलपरासीको मध्यबिन्दु नगरपालिकाले पनि अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मेयर भीमलाल अधिकारीका अनुसार नगरपालिका भित्रका विद्यालयहरू बिहीबारदेखि वर्षात नहुन्जेलसम्मका लागि बिदा दिइएको छ । ‘बिदा अनिश्चितकालसम्म रहने छ,’ उनले भने, ‘पानी परेर शीतल हुनासाथ विद्यालय सञ्चालन हुने छन् ।’

’ढलान कक्षाकोठा र पंखाको समेत पर्याप्त सुविधा हुने विद्यालयले पढाउन पनि सक्ने छन्,’ उनले भने । न्यूनतम सुविधा दिन नसकेका विद्यालयले वर्षात नहुन्जेल बिदा दिन निर्णय गरिएको उनले जानकारी दिए । बुधबार एक सूचना जारी गरेर गर्मी रहुन्जेलसम्मका लागि बिहीबारदेखि विद्यालय बिदा दिइएको उनले जानकारी दिए ।

बुधबार दिउँसो पौने १ बजे पूर्वी नवलपरासीको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ ।
 

ADV

सम्बन्धित खबर