काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अवरुद्ध प्रतिनिधि सभाको बैठक छिट्टै सुचारु हुने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आज वा भोलिसम्म बैठक सुचारु हुने बताए ।
भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । उनले अख्तियारले एउटा कर्मचारीमाथि छानबिन सुरु गरेको र कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नआउने स्पष्ट पारे ।
उनले एउटा कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे । अहिले पनि संसदको अवरोध खुलाउने बारेमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको उनले बताए ।
गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा छलफल जारी रहेको उनले बताए । सदनमा उठेका प्रश्नको जवाफ संसदमा गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद खोलेर सहयोग गर्ने, बजेटसम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्ने उनले बताए ।
मन्त्री गुरुङले सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्न नसक्ने बताए ।