२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

मध्यान्ह
२०८२ जेठ २८ गते १०:१०
मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

तनहुँ : आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् । उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मास खेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु. २५ का दरले अनुदान दिएको हो । आँबुखैरेनी–४ र ५ का किसानले चालू आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु. तीन लाख ९३ हजार ४५० अनुदान पाएका छन् ।

पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ । प्रमुख केसीले भने, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिइएको हो । प्रतिकिलो रु. २५ का दरले अनुदान दिन्छौँ ।”

चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु. १७ हजार ७०० अनुदान पाएका छन् ।

त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ७९७ किलो मास उत्पादन गरेबापत रु. ६९ हजार ९२५ अनुदान पाएका छन् । आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु. २१ हजार सात सय ७५ अनुदान पाएका छन् । 

आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार ५९० किलो मास उत्पादन गरेबापत रु. ६४ हजार ७५० अनुदान पाएका छन् । इन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु. २६ हजार २५० अनुदान पाएका छन् । भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु. एक लाख ५० हजार १७५ अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार ७३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु. ४३ हजार ५७५ अनुदान पाएका छन् । 

खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएका बताइन् । उनले भनिन्, “मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।” भुकुण्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरिन् । 

ADV

सम्बन्धित खबर