महोत्तरी : साना किसान तथा युवा उद्यमी साझेदारी कार्यक्रमअन्तर्गत स्वावलम्बी समूहका सदस्यहरूलाई बिउ पाठी उपहार प्रदान गरिएको छ ।
रामगोपालपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा समाज उत्थान कल्याण संघ (SUWA), महोत्तरीको सहजीकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमी साझेदारी कार्यक्रमअन्तर्गत स्वावलम्बी समूहका सदस्यहरूलाई बिउ पाठी उपहार प्रदान गरिएको हो ।
उपहार प्रदान कार्यक्रम रामगोपालपुर नगरपालिका वडा नं. ०४ का अध्यक्ष कारिकमख्या महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । नगर प्रमुख रामदुलार साहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास थिए ।
बिउ पाठी उपहार प्रदान कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष मकेश्वर शर्मा, वडा नं. २ का वडाध्यक्ष सकिबुल खाँ, वडा नं. ६ का वडाध्यक्ष शिवजी महतो र हेफर प्रोजेक्ट नेपालको सिनियर कार्यक्रम अधिकृत मिथिलेश झा, समाज उत्थान कल्याण संघ, कार्यक्रम व्यवस्थापक प्रेम कुमार चौधरी, सहजकर्ता उपेन्द्र यादवलगायत विभिन्न समूहका सहकारी सदस्यहरूको उपस्थिति थियो ।
सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार जेष्ठभित्र नगरपालिकाको वडा नं. १ देखि ९ वडामा ५० वटा बिउ पाठी उपहार स्वरूप प्रदान गरिएको छ ।
उपहार प्रदान कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको रामगोपालपुर नगरपालिकाका प्रमुख रामदुलार साहले बताए ।
महिलाहरूलाई दिएको पाठीलाई हुर्काउने र बिउपुँजीका रूपमा विकास गर्दा आयआर्जनमा सघाएको थुप्रै उदाहरण रहेको भन्दै महिलाले बाख्रापालन गरेरै सहकारी चलाउने, बाख्रापालनमा भोक जगाउने र बाख्रापालनलाई वृद्धि गर्ने तरिका सिकाउँदा फलदायी हुने वडाध्यक्ष कारिकमख्या महतोले बताए ।
वडाध्यक्ष मकेश्वर शर्मा र शिवजी महतोले कार्यक्रम धेरै राम्रो उपलब्धिमूलक भएकाले निरन्तर सञ्चालन गरिने बताए ।
पशु शाखा प्रमुख रामतलेबर मररले कृषक परिवारलाई प्राविधिक तथा क्षमता विकासका तालिमहरू, बाख्रा व्यवस्थापनका साथै व्यवस्थित खोर, गोठ सुधारबारे जानकारी दिए । खुसी मन निःस्वार्थ भावानाले एक अर्कालाई उपहार दिएको स्वावलम्बी समूहको पुनम देवी मण्डल बताइन् ।