रामेछाप : रामेछाप नगरपालिकाका ९वटै वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । महिला बालबालिका शाखाकी सरिता बुढाथोकीका अनुसार वडाहरूले ५१ वटा सूचक, ५ वटा चरण, र २८ तहगत खुड्किला पार गरेपछि बालमैत्री वडा घोषणा गरिएको हो ।
सरकारको दीगो विकास लक्षित सामाजिक क्षेत्रमा बालबालिका सम्बन्धी कामलाई महत्वपूर्ण मान्दै स्थानीय तहहरूलाई अनिवार्य गरिएको छ । सुरुमै जनप्रतिनिधिहरुले बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता लगायतका क्षेत्रमा बजेट छुट्याउन अनुत्पादक ठाने पनि कानूनी प्रक्रिया र दीगो विकासको आधारबारे जानकारी गराएपछि बजेट छुट्याउन सहमत भएका थिए । निरन्तर प्रयासपछि सबै वडामा बालमैत्री वडा घोषणा गर्न सफल भएको बुढाथोकीले बताइन् ।
बालमैत्री वडा घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा निवर्तमान जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ, प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, जिल्ला समन्वय प्रमुख चिना खड्का कार्की, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जिल्ला समन्वय उपप्रमुख प्रेमबहादुर थापा, नगरपालिका मेयर लवश्री न्यौपाने, निवर्तमान उपमेयर सिर्जना खड्का लगायतको उपस्थिति रहेको थियो ।
७ नम्बर वडाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा राज्यमन्त्री कान्छाराम तामाङ उपस्थित थिए भने विशिष्ट अतिथिमा जिल्ला समन्वय प्रमुख चिना खड्का थिइन् । राज्यमन्त्री तामाङले बालमैत्री स्थानीय शासन दीगो विकासका लागि अत्यन्तै आवश्यक भएको भन्दै सफल कार्यका लागि बधाई तथा शुभकामना व्यक्त गरे । जिल्ला समन्वय प्रमुख खड्काले रामेछाप नगरपालिकाको ९ वडामा अनुगमन गरेर बालमैत्री वडा घोषणा गर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् ।
वडा नं.१ को कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपमेयर सृजन खड्काले आफ्नो कार्यकालमा बालबालिकाको क्षेत्रमा काम सुरु गरेको र बालमैत्री वडा घोषणा गर्न पाउँदा खुशी व्यक्त गरिन् ।
यस्तै वडा नं. २ को कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख प्रेम बहादुर थापा प्रमुख अतिथि थिए भने वडा नं. ३ को कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद सापकोटा प्रमुख अतिथि थिए । यस्तै वडा नं.४ को कार्यक्रममा रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने प्रमुख अतिथि थिए ।
वडा नं.५ को कार्यक्रममा जिल्ला समन्वयका हरिकृष्ण फुयाल प्रमुख अतिथि थिए । वडा नं.६ को कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, ८ को कार्यक्रममा शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल र ९ को कार्यक्रममा प्रदेशसभा सांसद तारानारायण श्रेष्ठ प्रमुख अतिथि थिए ।